दुग्धजन्य वस्तु विक्री नहुँदा व्यवसायी मर्कामा
सोलुखुम्बु। सोलुखुम्बुमा कोरोना महामारीका कारण दुग्धजन्य वस्तु बिक्री नहुँदा खेर जान थालेको छ । दुध तथा दुधबाट बनाइएका चिज, छुर्पी, दुर्खा, घिउ लगायतका दुग्धजन्य वस्तु खेर जान थालेको व्यवसायीहरूले बताएका छन् ।
कोरोना महामारीले बजार बन्द हुँदा विक्री गर्न नपाएर चौरी गोठबाट ठगेर ल्याएको चिज, छुर्पी, दुर्खा, घिउ लगायतका दुग्ध जन्य वस्तु खेर गएपछि व्यवसायी चिन्तामा परेका हुन् । बजारमा विक्री नहुँदा गत वर्षदेखि हालसम्म नौ लाख रुपियाँ बराबरको घाटा बेहोर्नु परेको सल्लेरीस्थित पिके चिज घिउ पसलका सञ्चालक मिङमार शेर्पाले बताउनुभयो ।
विभिन्न सामाग्रीमध्ये सबैभन्दा बढी छुुर्पि, चिज, घिउ खेर गएको उहाँले बताउनुभयो । पहिला एक दिनमा नै २० हजारसम्म बिक्री हुने भए पनि अहिले मुस्किलले पाँच हजारसम्म व्यापार हुने गरेको उनको भनाइ छ । कतिपय दुग्धजन्य सामाग्री कोशेलीका रुपमा जिल्ला बाहिर जाने गरेकोमा निषेधाज्ञाले ठप्प भएको हो ।
यातायात बन्द हुनु, पर्यटक नआउनु र मानिसको चहलपहल घट्नुले व्यापारमा कमी आउँदा १ लाख ५० हजार बराबरको दुग्धजन्य वस्तु खेर गएको सल्लेरीका व्यवसायी फुर्वा शेर्पाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्