तपाईँ सुन्दै हुनुहुन्छः

बढ्न थाल्यो कोरोना सङ्क्रमण

चितवन। जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो सङ्ख्या एक हजार २७१ पुगेको छ । सक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम दुई दशमलव एक प्रतिशत सङ्क्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशमलव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव४३ प्रतिशत रहेको छ ।

कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “राम्रोसँग सङ्क्रमितको सङ्ख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि खतरा बढेको छ ।” मानिसलाई खुकुलोपना बढी चाहिएका कारण पुनः सङ्क्रमण थपिएर जाने हो कि भन्ने चिन्ता बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “निषेधाज्ञा खुकुलो भए पनि उच्च सावधानी अपनाउनुप¥यो ।”

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका फिजिसियन डा भोजराज अधिकारी गम्भीर प्रकृतिका सङ्क्रमित नभएर मध्यम र सामान्य प्रकृतिका सङ्क्रमित बढेको बताउनुहुन्छ । निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको आशङ्का हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि सङ्ख्या बढेको हुनसक्ने उहाँको अनुमान छ । बर्सातको समयमा पानीमा भिजेर, खेतीपातीको कामले थाकेर भन्दै सामान्य लक्षण देखिएका पनि घरमै रहेको भन्दै उहाँले भन्नुभयो, “यस्ता कारणले गाउँघरमा सङ्क्रमितको सङ्ख्या झन् बढ्न सक्छ ।” कोरोनाको मिल्दोजुल्दो लक्षण देखिँदासाथ परीक्षण गर्न पनि उहाँले सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापी रूपमा भन्दा जिल्लामा केही कमी भए पनि बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सबै सजग भएनौँ भने सङ्क्रमण झन् बढ्न सक्छ । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुप¥यो ।” निषेधाज्ञा खुकुलो भए पनि सङ्क्रमण छ भन्ने सोचेर आफ्ना दैनिक क्रियाकलाप गर्न उहाँले सुझाव दिनुभयो ।

जिल्लाका अस्पतालमा २१९ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचार कक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयुमा र ११० जना सामान्य शय्यामा उपचाररत छन् । जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितको सङ्ख्या १६ हजार ८६३ पुगेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button