समन्वय, सहजीकरण र अनुगमनका लागि जिससको भूमिका महत्त्वपूर्ण
चितवन ।प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्ण भक्त पोखरेलले समन्वय सहजीकरण र अनुगमन सन्दर्भमा जिल्ला समन्वय समिति (जिसस) को भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
बागमती प्रदेश सुशासन केन्द्रद्वारा जिसस सदस्य र पदाधिकारीका लागि आयोजित समन्वय र योजना अनुगमन विषयक दुई दिवसीय कार्यशाला गोष्ठीको मङ्गलवार चितवनमा उद्घाटन गर्नुहुँदै उहाँले भौतिक विकास निर्माणमात्र नभई सामाजिक क्रियाकलापको अनुगमन र समन्वय गर्ने कुरामा जिससको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले संविधानमै सङ्घ प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने, जिल्ला भित्रको गाउँपालिका र नगरपालिका बीचमा समन्वय गर्ने, विकास निर्माणका काममा सन्तुलन कायम गर्न अनुगमन गर्ने र प्रदेश सरकारले तोकेका अन्य कामहरू समेत गर्ने भनी परिभाषा गरेको हुँदा यसलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । संविधानले महत्त्वपूर्ण मानेर समग्र जिल्लाको विकास र समानताका लागि जिससको परिकल्पना गरेको भन्दै सङ्घीय सरकार र प्रदेश सरकारको कार्य तथा स्थानीय तहसँगको समन्वय र सहजिकरणका लागि जिससलाई भूमिका र अधिकार सम्पन्न बनाउनुपर्ने तथा संविधानको मर्म अनुसार नै सबै प्रकारका कानुनहरू निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घ प्रदेश र स्थानीय तहले गरेका कामको अनुगमन गर्न जिसस बाहेक अन्य कुनै निकाय प्रभावकारी हुन नसक्ने बताउनुभयो ।
उहाँले अनुगमन सुपरिवेक्षण लागाएतको काम गर्ने विश्वासिलो निकाय जिल्ला समन्वय समिति हुँदाहुदै पनि यस्को व्यवहारिक प्रयोग र बुझाइको अभावले गर्दा आफूहरू चुकेको बताउनु भयो । सङ्घ प्रदेश र स्थानीय तहहरूले आफै कार्यक्रम बजेट ल्याउने र ठेक्का पकृया देखि निर्माण सम्पन्न भएसम्म र अनुगमन पनि स्वयम आफूले नै गर्ने भएकोले पारदर्शी नहुने हुँदा जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनुभयो ।
जिल्ला समन्वय बागमती प्रदेशका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घका केन्द्रिय उपाध्यक्ष एवम् नुवाकोटका प्रमुख सन्तमान तामाङ, धादिङका प्रमुख जगनाथ नेपाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । आज र भोलि दुई दिनसम्म चल्ने कार्यक्रममा बागमती प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट र रसुवाका प्रमुख उपप्रमुख एवम् सदस्यहरूको उपस्थिति रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्