बागचौर नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

सल्यान । सल्यानको बागचौर नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका घोषणा भएको छ । १६ महिना देखि २३ महिनासम्मका बालबालिकाहरूले एक वर्ष भित्र लगाउनु पर्ने सबै खोपहरू लगाएपछि मङ्गलवार बागचौर नगरपालिकालाई पूर्ण खोप युक्त नगर घोषणा गरिएको हो ।
पूर्ण खोप, सुरक्षित भविष्य नाराका साथ सुरु गरिएको पूर्ण खोपयुक्त अभियान अन्तर्गत नगरपालिकाका १६ महिना देखि २३ महिनासम्मका ५ सय ३ बालबालिकालाई पूर्ण खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख हरि कठायतले जानकारी दिए ।
उनले एक वर्ष भित्रका बालबालिकालाई खोप लगाउने कार्य जारी रहने बताए । नगरका १२ वटै वडालाई पूर्ण खोप युक्त वडा घोषणा गरेपछि मङ्गलवार एक कार्यक्रमका बीच पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको उनको भनाई छ ।
बालबालिकाले रोग प्रतिरोधात्मक सबै प्रकारका खोप पाए नपाएको सामुदायिक महिला स्वयमसेविकाहरुले घर घरमा पुगी एकिन गरे पछि र छुटेका बालबालिकाहरूलाई खोप लगाएपछि नगरपालिकालाई घोषणा गरिएको कठायतले बताए ।
खोपले रोगसँग लड्न प्रतिरोधात्मक क्षमताको विकास गर्ने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक तथा जिल्ला खोप समन्वय सचिव दशरथ श्रेष्ठले बताए ।
पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुनका लागि बिसीजी, डिपिटी, पिसिभी र दादुरा रुबेला विरुद्धको खोपको मात्रा सबै बालबालिकाले पूर्ण रुपमा लगाएको हुनु पर्ने उनको भनाई छ । पूर्ण खोपयुक्त घोषणा गर्नु अघि सर्वेक्षणदेखि घोषणा अनुमतिसम्मका चरण पुरा गर्नुपर्ने श्रेष्ठले बताए ।








प्रतिक्रिया राख्नुहोस्