कांग्रेस नेताद्वारा कुँवरप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौँ।नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल ट्रेड युनियन काँग्रेसका सल्लाहकार रामजी कुँवरप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । युनियनका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहनुभएका कुँवरको सोमबार साँझ ६५ वर्षको उमेरमा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको थियो । सुरुमा कोरोना सङ्क्रमण देखिए पनि पछिल्लो समय उहाँको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
ट्रेड युनियन काँग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा आज बिहान पुगेर महामन्त्री कोइरालालगायत काँग्रेसका नेताहरूले कुँवरप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । आज बिहान ८ः३० देखि १० बजेसम्म केन्द्रीय कार्यालयमा राखिएको श्रद्धाञ्जली कार्यक्रममा महामन्त्री कोइरालासहित पूर्व महामन्त्री प्रकाशमान सिंह, सह महामन्त्री सुनिलबहादुर थापा, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, गगनकुमार थापा, बद्री पाण्डे, प्रधानमन्त्रीका प्रमुख राजनीति सल्ल्लाहकार विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
यसैबिच, सोमबारै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा शेखर कोइरालाले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर स्व कुँवरको परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो । लामो समयदेखि नेपालको ट्रेड युनियन आन्दोलनमा होमिनुभएका स्व कुँवर विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका प्रमुखको प्रत्याशी हुनुहुन्थ्यो । उहाँ काँग्रेसको १२औँ महाधिवेशनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य बन्नुभएको थियो । स्व कुँवरको शवलाई अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिएको छ ।
यसैबिच, नेपाल ट्रेड युनियन काँग्रेसको आज बसेको आकस्मिक बैठकले कुँवरको निधनले नेपालको प्रजातान्त्रिक र श्रमिक आन्दोलनमा ठुलो क्षति पुगेको बताएको छ । बैठकले कुँवरको निधनप्रति केन्द्रीय कार्यालयसहित सम्पूर्ण जिल्ला कार्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको उपाध्यक्ष अजयकुमार राईले जानकारी दिनुभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्