तपाईँ सुन्दै हुनुहुन्छः

पानीजन्य रोगको सङ्क्रमण बढ्न सक्ने चेतावनी

मनाङ। हिमाली जिल्ला मनाङमा बाढी पहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्न सक्ने चेतावनी दिइएको छ । अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डाक्टर प्रतिभा गौलीले बताउनुभयो । डा गौलीले भन्नुभयो,“बाढीपहिरोले खाने पानीका पाइप र मुहान बगाएपछि जिल्लामा शुद्ध पिउने पानीको अभाव भएको छ । आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ । बाढी पहिरोबाट विस्थापित भएका नागरिक एउटै कारागार भवनमा ३०० जना बसेका छन् । त्यस कारणले कोभिड– १९ को मात्र नभएर पानीजन्य रोग फैलिने हो कि भन्ने हाम्रो चिन्ता छ ।”

अस्पतालमा आजभोलि पानीजन्य सम्बन्धित रोगका बिरामी धेरै आउने गर्दछन् । “अहिले नै पानीजन्य रोगको सङ्क्रमणले महामारीको रूप त लिएको छैन तर, यस्ता सरुवा रोगदेखि सचेत हुनुपर्दछ ।” यो वर्ष कोरोना महामारीको उच्च जोखिम त्यसमाथि बाढीपहिरोले पानीजन्य रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै डा गौलीले जिल्लावासीलाई सचेत रहन आग्रह गर्नुभयो ।

उहाँ भन्नुहुन्छ,“बाध्यतावश जिल्लामा बाढी पहिरोबाट विस्थापित नागरिक एकै ठाउँमा बसेका छन् । तर, बस्दा सरसफाइदेखि लिएर खानेपानी लाई उमालेर हुन्छ कि अन्य शुद्धीकरणका उपाय अपनाएर मात्र पिउन जिल्लावासीलाई अनुरोध गर्दछु ।” वर्षात् सुरु भएसँगै ब्याक्टेरिया, भाइरस तथा जीवाणु बढी सक्रिय हुने गर्दछ । गर्मी एवं वर्षा याममा रोगको प्रकोप अन्य यामको तुलनामा बढ्ने गर्दछ । जसले गर्दा यो मौसममा झाडापखाला, जन्डिस, भाइरल ज्वरो, डेङगु, आँैलौ, सर्प दंशलगायतका बिरामीको सङ्ख्या बढ्ने गरेको चिकित्सकको भनाइ छ ।

जिल्लामा अविरल वर्षापछि आएको बाढीपहिराले विद्युतीय क्षेत्रमा पु¥याएको क्षतिबाट अस्पताल प्रभावित भएको छ । अस्पतालमा प्रयोगशाला सञ्चालनमा कठिनाइ भएको पनि डा गौलीले बताउनुभयो । अस्पतालमा भएको जेनेटर दुई दुई घण्टा मात्र खोलेर प्रयोगशाला सञ्चालन गर्नुपरेको डा गौलीले बताउनुभयो ।

यस्तै जिल्लामा बाढी पहिरो पश्चात् आउन सक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य कार्यालय मनाङले काम अगाडि बढाएको छ । जिल्लामा बाढी पहिरो गएपछि क्लोरिन ट्याब्लेटको माध्यमबाट खानेपानी लाई शुद्धीकरण गरिएको जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य छन् । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरेका छौँ, यसका साथै पानीजन्य रोगबाट सङ्क्रमण बढ्न सक्ने भन्दै सूचनामूलक सन्देश दिँदै हिँडेका छौँ ।”

मनाङका विभिन्न स्थानमा भौतिक संरचनामा ठुलो क्षति हुने गरी बाढी पहिरो गएको छ । जिल्लामा बाढी पछि आउन सक्ने पानीजन्य रोगको जोखिम भएकाले सबैले सावधानी अपनाउन जनस्वास्थ्य कार्यालय मनाङको आग्रह छ । यस परिस्थितमा उद्धार, राहतका कार्यमा जुट्दा कोरोना विरुद्धको स्वास्थ्यका मापदण्ड नअपनाउँदा, सफा पिउने पानी नपाउँदा, लामखुट्टेबाट बच्न नसक्दा, उपयुक्त गाँस र बाँसको प्रबन्ध राम्रो नहुँदा झनै स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउन सक्ने भएकोले विशेष सावधानी अपनाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य प्रमुख आचार्य बताउनुहुन्छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button