तपाईँ सुन्दै हुनुहुन्छः

महालक्ष्मी नगरपालिकाको सातौँ नगर सभा सम्पन्न

धनकुटा।धनकुटाको महालक्ष्मी नगरपालिकाको सातौँ नगर सभा सम्पन्न भएको छ । असार ९ गतेबाट सुरु भएको नगर सभा १२ दिनपछि सोमबार सम्पन्न भएको हो ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । असार ९ गते नगर सभामा मेयर नेपालले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै, उप–मेयर मञ्जु अधिकारीले आगामी आर्थिक वर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।

नगर सभाले उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको हो । चालु आर्थिक वर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय ३१ रुपैयाँ बजेट ल्याएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ४ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बढी बजेट पारित गरिएको हो ।

नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भए पनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शीर्षकगत रुपमा छुट्टाएर नगर सभाले सर्वसम्मत पारित गरेको महालक्ष्मी नगरपालिकाका प्रवक्ता रामबहादुर खड्काले जानकारी दिनुभयो । सातौँ नगर सभाको पहिलो बैठकले महालक्ष्मी नगरपालिकाको आफ्नै नगर गान पनि सार्वजनिक गरेको थियो । महालक्ष्मी नगरले यसअघि नगरको बेग्लै लोगो पनि सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ ।धनकुटामा आफ्नै नगर गान र नगरको बेग्लै लोगो प्रयोगमा ल्याउने महालक्ष्मी पहिलो पालिका हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button