स्थानीय तह समन्वय बैठक : नदिजन्य स्रोत, विपद् व्यवस्थापन, कोरोना रोकथामलगायत विषयमा छलफल

मकवानपुर।जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा स्थानीय तह समन्वय बैठक बसेको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा सोमबार बसेको बैठकमा नदिजन्य स्रोत व्यवस्थापन, विपद् व्यवस्थापन, कोरोना रोकथाम तथा खोप व्यवस्थापन, सरुवा रोग अस्पताल निर्माण, मौज्दात कोषको रकम परिचालनलगायत विभिन्न विषयमा छलफल तथा निर्णय गरेको छ ।
बैठकले नदिजन्य स्रोतको विषयमा आगामी वर्ष स्थानीय तहले विधिसम्मत तरिकाले आइइ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । नदिजन्य स्रोतको व्यवस्थापनका सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ एवम् नेपाल सरकारले पठाएको कार्यविधि अनुसार स्थानीय तह आफैले विधिसंवत ढङ्गले प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन स्वीकृत गरी कार्यान्वयनमा ल्याउने र त्यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, वन कार्यालय, तथा वन्यजन्तु आरक्षलगायत सरोकारवाला निकायबाट सहजीकरण गर्ने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।

त्यस्तै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा जिल्लामा अझै पनि कोरोनाको प्रभाव कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउन जनचेतना अभिवृद्धि गर्ने साथै खोपका सन्दर्भमा तोकिएको समूहलाई खोप लगाउन र नमुना परीक्षणलाई स्थानीय तहहरूले सहजीकरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै मकवानपुरका स्थानीय तहको सहकार्यमा निर्माण गर्न लागिएको सरुवा रोग अस्पतालका सन्दर्भमा अघिल्लो समन्वय बैठकले बनाएको परामर्श समितिले हालसम्म गरेका कामको जानकारी दिँदै थप कार्य अगाडी बढाउने निर्णय गरेको छ । बैठकमा समितिका संयोजक खुलालले हालसम्म विभिन्न निकायसँग परामर्शलगायतका कार्य अगाडी बढाएका जानकारी दिनुभएको थियो ।
त्यस्तै बैठकले जिससको मौज्दात कोषको रकमको सन्दर्भमा कार्यविधि अनुसार सम्झौता गरी तोकिए बमोजिम कार्य सम्पन्न नगर्ने, सम्झौताका लागि नआउने स्थानीय तहमा मौज्दात कोषको रकम उपलब्ध नगर्ने निर्णय भएको जानकारी गराइएको थियो । यस अघि आइतबार बसेको जिसस बोर्ड बैठकले गरेको उक्त निर्णय आजको समन्वय बेकठमा जानकारी गराइएको हो । यस्तै विपद् व्यवस्थापनका सन्दर्भमा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्ने र विपद् व्यवस्थापनका सामग्रीहरु व्यवस्था गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने तथा स्थानीय तहहरूलाई स्रोत नक्साङ्कन फारम यथाशीघ्र भरी सबै स्थानीय तहहरूलाई पुन निर्णय गर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।
गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत स्थानीय तहहरूलाई यस अघि नै स्रोत नक्साङ्कन उपलब्ध गराउन पत्राचार गरिएको थियो । बैठकमाजिसस मकवानपुरद्वारा तयार पारिएको मकवानपुर टुरिजम पार्टलको शुभारम्भ समेत गरिएको थियो ।बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदर हुमागाई, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे, कैलाश गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङ्, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, समन्वय अधिकारी आनन्दराज पोखरेल, डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख इमनाथ पौड्याल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दीर्घनारयण कोइराला, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायलगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्