तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रबिसेद्वारा भौगर्भिक अध्ययनलाई तीव्रता

सिन्धुपाल्चोक।बाह्रबिसे नगरपालिकाले बाढी र पहिरोको उच्च जोखिममा रहेको क्षेत्रमा भौगर्भिक अध्ययनलाई तीव्रता दिएको छ ।नगरपालिकाले हिजो वडा नम्बर ७ को आरूचे, हुण्डुङ, ढकाल गाउँबाट भौगर्भिक अध्ययनको सुरुवात गरेको हो ।

जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययनका लागि भू-गर्भविद् सहितको विज्ञ टोलीको नेतृत्व उपप्रमुख सुशीला पाख्रिनले गरिरहनुभएको छ । दोस्रो दिन एउटा टोलीले नागपुजे, भिरखर्क पहिरोको सुरुवात पोईन्टहरू घुम्थाङ् टुँडिखेलको फेदी हुदैं, घुम्थाङ् शेर्पा बस्तीको सिरान सम्मको अध्ययन पुरा गरेको उपाध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।

अर्को टोलीले भिरखर्क, भिर थाप्लो लगायतका बस्ती स्तरीय अध्ययन गरेको छ । जोखिमपूर्ण बस्तीमा उपप्रमुख पाख्रिनको नेतृत्वमा रहेको भू-गर्भविद्को टोलीले मिहेनतसँग अध्ययन गरिरहेको छ । गाउँ पुगेको विज्ञ टोलीलाई इलाका प्रहरी, वडाका प्राविधिक, प्रतिबद्ध संस्थाका इन्जिनियर प्रतिनिधिले सहयोग गरिरहेका छन् ।

विज्ञ टोलीले नगरपालिकाको ९ वटै वडामा अध्ययन गर्ने छ । अध्ययन प्रतिवेदनको फाइनल रिपोर्ट आएपछि नगरपालिकाले विस्तृत योजना बनाएर काम बढाउने उपप्रमुख पाख्रिनले बताउनुभयो ।

‘हामीले भौगर्भिक अध्ययनलाई तीव्रता दिइरहेका छौँ, हाम्रो ठाउँ खास गरी बाढी र पहिरोको उच्च जोखिममा छ, अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा नगर बासीलाई सुरक्षित बसोबासको प्रबन्ध मिलाउन सहयोग पुग्नेछ, उपप्रमुख पाख्रिनले भन्नुभयो ।’

नगरपालिकाले यसअघि वडा नम्बर ५ खोराङ बस्तीका बाढी पहिरोको कारण उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिसकेको छ । खोराङका १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उपप्रमुख पाख्रिनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button