तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले आज माथिल्लो तामाकोशी जलविद्युत् आयोजना उद्घाटन गर्नु हुने

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना उद्घाटन गर्नुहुने भएको छ ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजना उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत् गृह रहेको गोगरबाट न्यु खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ ।

आर्थिक बर्ष २०६७–६८ मा निर्माण सुरु भएको आयोजनाको मुख्य सुरुङको डिजाइन परिवर्तन, लट २ ठेकेदारको कमजोर कार्य तथा २०७२ सालको विनाशकारी भूकम्प तथा कोरोना सङ्क्रमणका कारण आयोजना निर्माणमा दुई बर्ष भन्दा बढी ढिलाइ भएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताउनुभयो । 


निर्माण अवधिको ब्याज बाहेक आयोजनाको संशोधित लागत हालसम्म ५२ अर्ब रहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । ब्याजसहित आयोजनाको कूल लागत झन्डै ८३ अर्ब पुग्ने अनुमान गरिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button