सिसिटिभीको निगरानीमा भकुण्डे बजार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाले नगरको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा सिसिटिभी जडान गरेको छ ।
बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणको उद्देश्यले नमोबुद्ध नगरपालिकाले बजार क्षेत्रमा निगरानी गर्न १७ वटा सिसिटिभी क्यामरा जडान गरेको हो । डिजिटल नमोबुद्धको अवधारणाअन्तर्गत जडान गरिएको सिसिटिभी निगरानी प्रणालीको आइतबार उद्घाटन गरेको छ ।
नगरपालिकाले कुल १५ लाख रुपैयाँको बजेटमा १७ स्थानमा १७ वटा क्यामरा जडान गरेको जनाएको छ । यस्तै तीनवटा क्यामरा प्रहरी चौकी भकुण्डेबेशीमा जडान गरिएको छ । सिसिटिभी क्यामराको कन्ट्रोल प्रहरी चौकी भकुण्डेबेशीबाट हुने छ । पछिल्लोपटक भित्रिएको नयाँ प्रविधिसहित उच्च क्षमताका क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले जनप्रतिनिधि आएपछि डिजिटल नमोबुद्धको अभियान सुरु गरिएको र त्यसलाई कार्यान्वयन गर्ने क्रममा बजार क्षेत्रमा सिसिटिभी जडान गरिएको नमोबुद्ध नगरपालिका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य, प्रशासनिक लगायतका क्षेत्रमा डिजिटल नमोबुद्धको अवधारणा अनुसार काम भइरहेको, नमोबुद्धको प्रमुख पर्यटकीय क्षेत्र नमोबुद्ध गुम्बा परिसरमा पनि सिसिटिभी क्यामराबाट निगरानीको व्यवस्था यसअघि नै गरिएको नगर प्रमुख तिमल्सिनाले बताउनुभयो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नगर र नगरबासीलाई सुरक्षित बनाउन नमोबुद्ध नगरपालिकाले लिएको पहलकदमीको प्रशंसा गरे । सिसिटिभी जडान भएपछि नगरभित्र हुने अपराधको अनुसन्धानमा विशेष सहयोग हुने भन्दै पोखरेलले यसका लागि स्थानीय सरकारले दिएको चासो र चिन्ता प्रशंसनीय रहेको बताए । उनले आगामी दिनमा पनि शान्ति सुरक्षा कायम गर्न नगरपालिका र सुरक्षा निकायको सहकार्यको आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक सहजीकरणको काम जिल्ला प्रशासन कार्यालय काभ्रेले गर्ने बताए । अपराध अनुसन्धानका लागि सिसिटिभीबाट हुने निगरानी विश्वमै भरपर्दो अभ्यासको रुपमा स्थापित भइसकेको उनले जानकारी दिए ।
नमोबुद्ध नगरपालिकाका प्रविधिको उच्चतम प्रयोग गर्दै नगरलाई सुरक्षित बनाउने उद्देश्यले नगरपालिकाले सिसिटिभी जडानको पहलकदमी हो ।सबै वडामा इन्टरनेटको पहुँच पुगेको, राजस्व तिर्नका लागि नगरपालिका वा वडासम्म धाउनुपर्ने गरी घरबाट ई सेवा तथा खल्ती एपबाट तिर्न सक्ने व्यवस्था मिलाइ सकेको नगर पालिकाले जनाएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सिसिटिभी जडान कार्यले नगरमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेल्ने बताए । यस्तै नमोबुद्ध नगरपालिकाका सूचना प्रविधि अधिकृत विजय प्रजापतिले सिसिटिभी निगरानी प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्