तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार बढी

भोजपुर । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या एक हजार भन्दा बढी पुगेको छ । आइतबार जिल्लामा ११ जना नयाँ संक्रमित थप भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १ हजार १० पुगेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । 

जिल्लाको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या सदरमुकाम भन्दा गाउँमा बढी देखिने गरेको छ । अहिलेसम्म सबैभन्दा बढी साल्पासिलिंछो गाउँपालिकामा १ सय ७२ जना संक्रमित देखिएका छन् । यस्तै भोजपुर नगरपालिकामा १ सय ६४ जना, हतुवागढी गाउँपालिका १ सय ५५ जना, रामप्रसाद राई गाउँपालिकामा १ सय ४५, टेम्केमैयुङ गाउँपालिकामा ९१, षडानन्द नगरपालिकामा ८९, आमचोक गाउँपालिका ४३, र पौवादुङमा गाउँपालिकामा २१ जना कोरोनाका संक्रमित भेटिएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । 

कार्यालयका अनुसार हालसम्म ७ सय ८१ जना संक्रमित निको भएका छन् भने ८ जनाको उपचारका क्रममा ज्यान गएको छ । भोजपुरमा हाल पीसीआर परीक्षण भन्दा पनि बढी एन्टिजेन विधिबाट सङ्क्रमितको परीक्षण हुँदै आइरहेको छ । 

दोस्रो लहरको कोभिड १९ मा भोजपुरमा जम्मा ३ सय ८५ जनाको मात्र पीसीआर परीक्षण गरिएको छ । जसमध्ये १ सय ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने एन्टिजेन्ट परीक्षण विधिबाट ३ हजार ४ सय ८९ जनाको परीक्षण गरिएकोमा ९ सय ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । 

भोजपुरमा हाल १ सय ९३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लाबाहिर ३१ जनालाई उपचारको लागि पठाइएको छ भने संस्थागत आइसोलेसनमा १६ जना आइसोलेसनमा बसेका छन् ।                                                                                                                                             

प्रतिक्रिया राख्नुहोस्

Back to top button