बगनासकाली गाउँपालिकाले बाल शिक्षक र कार्यालय सहयोगीलाई मासिक पारिश्रमिक १५ हजार दिने

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले बाल शिक्षक सहजकर्ता, कार्यालय सहयोगी, लेखाका कर्मचारीलाई न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ ।
गाउँपालिकाको दशौँ गाउँ सभाले बाल शिक्षक सहजकर्ता, कार्यालय सहयोगी, लेखाका कर्मचारी र सामुदायिक सिकाई केन्द्रका शिक्षकलाई समेत मासिक न्यूनतम १५ हजार रुपियाँ पारिश्रमिक दिने निर्णय गरेको हो ।
गाउँपालिकाले ३० जना बाल शिक्षक सहजकर्ता, ३० जना कार्यालय सहयोगी, १० जना लेखाका कर्मचारी, चार जना सिकाई केन्द्रका सहजकर्तालाई न्यूनतम तलब दिने निर्णय गरेको हो ।
पहिले तीन घण्टा पढाउने भनेर राखेका बाल शिक्षक सहजकर्ताले अहिले विद्यालयमा पुरै समय पढाउनुपर्छ । थप कक्षा पढाउने गरेर उनीहरूको मनोबल उच्च बनाउनुपर्छ भन्ने मान्यताका साथ मासिक १५ हजार पारिश्रमिक दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।
योग्यता र क्षमता भएर पनि लामो समयदेखि कम तलब पाएका बाल शिक्षक सहजकर्ता, लेखाका कर्मचारी र कार्यालय सहयोगीको तलब गाउँपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी वृद्धि गरेको गाउँपालिका अध्यक्ष बस्यालले बताउनुभयो ।
७५ जना जनशक्तिको पारिश्रमिक मासिक १५ हजार पुर्याउँदा एक वर्षमा गाउँपालिकाको ५९ लाख ४३ हजार खर्च हुने शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताउनुभयो ।
सरकारले बाल शिक्षक सहजकर्ताका लागि मासिक रूपमा पठाउँदै आएको रकममा थप गरेर १५ हजार दिइने निर्णय भएको खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्