निरन्तरको वर्षापछि झापाका नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

झापा । चार दिनदेखिको निरन्तरको वर्षापछि झापाका खोला तथा नदीमा पानीको ह्वात्तै बहाव बढेको छ ।
जिल्लाको सबै क्षेत्र जलमग्न भएपछि मौसम विभागले सतर्क रहन आव्हान गरेको छ ।
झापाको कनकाई, मेची, बिरिङ, टाङटिङ, रतुवा, माई, कमल, किस्ने, बनियानी लगायत दर्जनौँ खोला तथा नदीमा पानीको बहाव निरन्तर बढेपछि जल तथा मौसम विभागले सतर्क रहन भनेको हो । जिल्लामा जोखिम बढेको छ ।
झापा, मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा अध्याधिक वर्षा भइरहेकाले ती जिल्लाका नदी तथा खोलामा जुनसुकै बेला भीषण बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको हो ।
यसैबीच झापाको कनकाई नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेकाले जोखिम हुन सक्ने भन्दै आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
आज बिहान ७ः०० बजे कनकाई नदीमा पानीको बहाव २.५७ मिलिमिटर रहेको छ ।
पहाडी क्षेत्रमा पानी पर्ने क्रम जारी रहेकाले बहाव बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै मौसम विभागले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
कनकाई नदीमा पानीको बहाव ४.३ मिलिमिटर पुग्यो भने खतराको तहमा पुग्छ । यस्तो अवस्था भए दक्षिणी क्षेत्रका कनकाई आसपासका गाउँमा पानी पस्ने र बस्ती डुबान हुने जिल्ला रेडक्रस सोसाइटी झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्