तपाईँ सुन्दै हुनुहुन्छः

मुग्लिन–नौबिसे सडकखण्डको हुग्दिखोलामा पहिरोले ट्रक पुर्‍यो, एकको मृत्यु

चितवन । अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको हो । पहिरोले चार वटा सवारी पनि पुरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको जानकारीअनुसार पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको मात्र पहिचान खुलेको छ । मृतक सोही ट्रकमा सवार रहे पनि उनको सनाखत भएको छैन ।

बिहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदो माटो झर्दा काठमाडौंबाट गएका सवारीहरू मुग्लिनमा र पूर्व तथा पश्चिमबाट काठमाडौं आउन लागेका सवारी साधनहरू नारायणगढमै रोकिएका छन् । राजमार्गमा मालवाहक तथा यात्रुवाहक सवारीको लामो लाइन लागेको छ ।

निरन्तर वर्षा भइरहेकाले राजमार्गमा पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठुलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठुलो पहिरो झरेको छ ।

चितवनको इच्छा कामना गाउँपालिका–५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका–२९ को सेती दोभानमा ठुलो पहिरो खसेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।

धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका–६ परेवाटारमा पनि ठुलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button