कृषकलाई प्रोत्साहन गर्दे पौवादुङमा गाउँपालिका

भोजपुर । स्थानीय सरकारले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेमा केही हुन सक्छ । सोही अनुसार भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले बार्षिक रुपमा कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याई रहेको छ ।
सडक सञ्जालको पहुँचसँगै उत्पादित बस्तुले बजार पाउने भए पछि अहिले कृषि तर्फ आकर्षित हुनेको सङ्ख्या समेत बढ्दै गएको छ । गाउँपालिका अध्यक्ष किरण राई भन्नुहुन्छ, “पौवादुङमा कृषिका लागि सम्भावना भएको गाउँपालिका हो, त्यसैले पालिका भित्रका कृषकलाई प्रोत्साहन गर्नु हाम्रो पनि दायित्व हो ।” फलफूलको बिरुवाबाट प्रत्यक्ष आम्दानी तत्काल नभएता पनि अबको २/४ बर्ष पछि यसको आम्दानी कृषकले पाउने छन्, अध्यक्ष राईले भन्नुभयो ।
पालिकाले कृषकलाई मौरीको घार, फलफूलका बिरुवा वितरण, बोका वितरण जस्ता कार्यक्रमहरू बार्षिक रुपमा सञ्चालन गर्दे आई रहेको छ । यस क्रममा गाउँपालिकाले किवी, आँप, लिची लगायतका करिब १५ हजार बिरुवा कृषकलाई वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ सानोदुङमा र वडा नम्बर ६ ठुलोदुङमालाई आँपको पकेट क्षेत्र बनाउने योजना बनाइएको भने वडा नम्बर १ श्यामशिलालाई किवी र वडा नम्बर ४ बास्तिमलाई बाख्रा पालनको लागि पकेट क्षेत्र बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।
सोही क्रममा बास्तिका १२ वटा कृषि फर्मलाई बोयर जातको बोक समेत बितरण गरिएको छ । गाउँपालिकाका प्रवक्ता दिपक साम्पाङ राई भन्नुहुन्छ, “गाउँपालिकाले बाख्रा पालनको पकेट क्षेत्रको रुपमा रहेको वडा नम्बर ४ बास्तिमका कृषकहरूलाई उन्नत जातका बोका वितरण गरेको हो, हामीले यो क्षेत्रलाई पकेट क्षेत्र तोकेर कृषकलाई प्रोत्साहन गरिरहेका छौँ ।”
गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा पनि कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम योजनामा राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्