उद्योग वाणिज्य क्षेत्रका समस्याहरूलाई समाधान गर्न एकजुट भई अगाडि बढ्ने सहमति

बीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ र जनकपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुबीच उद्योग वाणिज्य क्षेत्रका समस्याहरूलाई समाधान गर्न एकजुट भई अगाडी बढ्ने सहमति भएको छ ।
जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा बीरगंज आएको ५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुबीच आज बीरगंजमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सो सहमति भएको हो ।
बीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरिप्रसाद गौतमले अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गर्नुभएको थियो ।
उहाँले बीरगंज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि, गण्डक–पथलैया औद्योगिक कोरिडोर, पर्सा–बारा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पुर्याइरहेको योगदानका बारे चर्चा गर्दै कूल राष्ट्रिय राजस्वको आधा हिस्सा ओगटेको यस क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यवाहक अध्यक्ष गौतमले जनकपुर र वीरगञ्जले एउटै प्रकृतिका समस्याहरू भोगिरहेकोले हाम्रा साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
यसै गरी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले नेपालकै सबैभन्दा पुरानो उद्योग वाणिज्य सङ्घको रुपमा परिचित वीरगंज उद्योग वाणिज्य सङ्घले आफ्नो स्थापनाकालदेखि नै पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको उन्नयनमा पुर्याउँदै आएको योगदान सह्रानीय रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले अध्ययन अवलोकन भ्रमणको उद्देश्य विभिन्न चेम्बरको स्थलगत भ्रमणबाट चेम्बर बीचको सम्बन्ध विस्तार र एक आपसमा के कस्ता विषयहरूमा सहकार्य गर्न सकिन्छ त्यस्ता मुद्दाहरूको पहिचान गर्न समेत मद्दत पुग्ने बताउनुभयो ।
उहाँले जनकपुर क्षेत्रमा १३ वटा मात्र ठुला उद्योग रहेका र साना, घरेलु उद्योग, व्यवसायको बाहुल्यता रहेकोले साना, घरेलु उद्योग, व्यवसायको प्रवर्द्धन हाम्रो संस्थागत भूमिका रहने र राज्यको पनि जिम्मेवारी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं। २ का अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरुबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।
साथै उद्योग वाणिज्य सङ्घहरू बीचको सम्बन्ध विस्तारको लागि प्रदेश उद्योग वाणिज्य सङ्घले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
बीरगंज उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार दासले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा बीरगंज उद्योग वाणिज्य सङ्घ र जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी, तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्