४१ उद्यमीलाई प्रोत्साहन रकम सहित सम्मान

सोलुखुम्बु । व्यावसायिक रुपमा लागेका विभिन्न उद्यमीलाई गाउँपालिकाले नगद सहित सम्मान गरेपछि उत्साहित भएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सक्रिय ४१ उद्यमीलाई प्रोत्साहन रकम सहित सम्मान गरे पनि व्यवसायी खुशी भएका हुन् ।
गाउँपालिकाभित्रका दुई उद्योग सञ्चालकलाई ५० हजार रुपैयाँ, ५ बङ्गुर फर्म सञ्चालकलाई ३० हजार रुपैयाँ, १८ बाख्रा फर्म सञ्चालकलाई ३० हजार रुपैयाँ, १० तरकारी फलफूल फर्म सञ्चालकलाई ३० हजार रुपैयाँका दरले गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले प्रोत्साहन रकम र प्रमाण पत्र सहित सम्मान गर्नुभएको हो ।
त्यस्तै, २५ हजार रुपैयाँका दरले चार कुखुरा फर्म सञ्चालक र २० हजारका दरले दुई भैँसी फर्म सञ्चालकलाई प्रोत्साहन रकम वितरण गरिएको हो । कामको मूल्याङ्कनका आधारमा प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिका अध्यक्ष बास्तोलाले बताउनुभयो ।
युवालाई स्वरोजगारीमुखी बन्न आग्रह गर्दै आगामी दिनमा पनि पालिकाको तर्फबाट सहयोग गर्ने र झोलाबाट सञ्चालन गरिने फर्मलाई खारेज गरिने उहाँको भनाइ छ । नेचासल्यान गाउँपालिका कृषि तथा पशु शाखाको आयोजनामा भएको कार्यक्रममा सम्मानित भएपछि कृषकहरूले खुशी व्यक्त गरेका छन् । यस्तो सम्मानले कृषकहरूलाई थप हौसला मिल्ने स्थानीय कृषक लाक्पा शेर्पाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्