सुकेपोखरी पर्यटकीय क्षेत्र निर्माणको गुरुयोजना तयार

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ५ जुबुमा अवस्थित सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणको गुरुयोजना तयार पारिएको छ ।
जिल्लाको तल्लो क्षेत्रको पर्यटन विकासमा सम्भावना बोकेको ऐतिहासिक तथा मनोरम ठाउँ सुकेपोखरीको बृहत्तर विकासको लागि अघि बढेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

गाउँपालिकाले स्थानीय सरकार गठनको पहिलो बर्ष नै सुकेपोखरीको गुरुयोजना बनाएर व्यवस्थित बनाउने योजना बनाएअनुसार गुरुयोजना बनाएर अघि बढेको उहाँले जानकारी दिनुभयो । सुकेपोखरीलाई त्रि–धार्मिक स्थलको रुपमा समेत विकास गरिने उहाँको भनाइ छ ।
जहाँ किराँत, बौद्ध र हिन्दु धर्मावलम्बीको लागि मन्दिरहरू निर्माण गरिनेछ ।
पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको सुकेपोखरीमा खोटाङको हलेसी महादेवस्थानमा दर्शनका लागि आउने दर्शनार्थीहरुलाई सुकेपोखरीसम्म ल्याउने हिसाबले संरचनाको निर्माण गर्ने अध्यक्ष राईले बताउनुभयो ।

सुकेपोखरीलाई त्रि धार्मिक पर्यटकीय क्षेत्र बनाउने भएपछि स्थानीयमा खुसी छाएको स्थानीय लाखधन राईले बताउनुभयो । यसले गाउँको विकास तथा रोजगारी सिर्जना हुनुका साथै आन्तरिक पर्यटनमा टेवा पुग्ने उहाँको भनाइ छ ।
सुकेपोखरी पर्यटन गुरुयोजना कार्यान्वयनका लागि पाँच करोड रुपियाँ बजेट लाग्ने अनुमान गरिएको छ ।
लगानी साझेदारीमा संरचना निर्माण गरिने सुकेपोखरीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन करोड रुपियाँ र स्थानीय सरकारले दुई करोड रुपियाँ लगानी गर्ने योजना छ । जसका लागि बोलपत्र आव्हान समेत भइसकेको बताइएको छ ।

सुकेपोखरी पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुई करोड ८० लाख रुपियाँ विनियोजन भइसकेको छ । जसमा गाउँपालिकाको तर्फबाट ४० प्रतिशत सहयोग हिस्सा रहनेछ । गाउँपालिकाको ४, ५ र ९ नम्बर वडाको मुख्य क्षेत्रमा पर्ने सुकेपोखरीमा स्वदेशी तथा विदेशी पर्यटक प्रर्बधन गर्ने उद्देश्य रहेको छ ।
यो क्षेत्रको निर्माणसँगै आन्तरिक एवं बाह्य पर्यटनको केन्द्र बन्नुका साथै स्रवण सगरमाथा पर्यटन मार्गसँग जोडिएर मुख्य आकर्षणको केन्द्र बन्ने बताइन्छ ।
परियोजनाको लागि त्रिभुवन विश्वविद्यालयका भुगर्वविदहरुको टोलीले स्थलगत अध्ययनको रिपोर्ट, बृहत् प्राविधिक अध्ययन एवं समग्र स्थितिको अध्ययन गरेर ’डिपिआर’ तयार पारेको हो ।








प्रतिक्रिया राख्नुहोस्