तपाईँ सुन्दै हुनुहुन्छः

झापाको मेचीनगरमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य सुरु

झापा । झापाको मेचीनगर नगरपालिका–१४ ढुवागढीस्थित हडिया खोला नजिकैको खाली जमिनमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य सुरु गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न नागरिकका लागि सो क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न लागेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति ९डीसीसीएमसी०को बैठकले हडिया खोला नजिकैको दक्षिणतर्फको खालि रहेको चार बिघा जमिनमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले होल्डिङ सेन्टर निर्माणका लागि स्थान पहिचान गरेसँगै निर्माण कार्य सुरु भएको नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमर जङ्ग थापाले जानकारी दिनुभयो ।

करिब २२ करोड रुपैयाँ लागत बन्ने होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन काठमाडौँले लिएको छ ।

दुवागढीमा बन्ने होल्डिङ सेन्टरमा फेब्रिकेटेड प्रविधियुक्त भवन अत्यन्तै व्यवस्थित बन्ने प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।

‘नेपाली सेनाको रोहबरमा बन्ने होल्डिङ सेन्टरमा १० देखि १२ वटा भवन बन्छ,’ प्रजिअ तिमिल्सिनाले भन्नुभयो, ‘निर्माण कार्य तीन महिनाभित्र निर्माण कम्पनीले सक्नुपर्ने हुन्छ ।’

सुरुमा होल्डिङ सेन्टर निर्माणका लागि मेचीनगर–७ स्थित नयाँ बसपार्क क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।

बसपार्कमा जग्गा अपुग हुने देखिएकोले अर्को स्थानको खोजी गर्ने क्रममा ढुवागढीको जमिन फेला परेको नयाँ श्रीनाथ गणका प्रमुख सेनानी थापाले बताउनुभयो ।

मेचीनगर नगरपालिकाको नाममा रहेको उक्त जमिन उपयुक्त देखिएको तथा मेचीनगर–१४ को सर्वपक्षीय भेलाले समेत त्यो जमिन सरकारले बनाउन लागेको होल्डिङ सेन्टरका लागि उपलब्ध गराउने निर्णयसमेत गरिसकेको छ ।

पहिलो लहरमा नेपाली सेनाले आफैँ होल्डिङ सेन्टर निर्माण गरेको थियो, तर यस पटक सरकारले झापासहित तराईका आठ वटा नाकामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।

होल्डिङ सेन्टरको सुरक्षाको जिम्मा कसलाई दिने हो भन्ने अहिले नै निर्देशिकामा नबनिसकेको उहाँले बताउनुभयो । सम्भवतः सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने उहाँको भनाइ छ । काँकडभिट्टा नाकादेखि होल्डिङ सेन्टरको दूरी करिब १२ किलोमिटर रहेको छ ।

सरकारले सीमा नाका खुलाएपछि काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने नागरिकलाई सोझै होल्डिङ सेन्टरमा ल्याउने र त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण गरेर मात्र सम्बन्धित जिल्ला वा गन्तव्यतर्फ पठाउने प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।

खुला सीमाका कारण देशभर कोरोना संक्रमण फैलिएकोले सीमामै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने सरकारको अबको योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button