पक्किपुल निमार्ण भएसँगै स्थानीय हर्षित

विराटनगर । २०७४ साउनमा आएको बाढीले बगाएको मोरङ बेलबारी ५ र ग्रामथान जोड्ने पुल अझै निर्माण नभएपछि त्यसको विकल्पको रुपमा ग्रामथान ४ मोतिपुरमा ८ करोड बढीको लगानीमा अर्को पुल निर्माण भएको छ ।
पूर्वमा बेलबारी ५ र पश्चिममा ग्रामथान ४ मा पर्ने उक्त पुलले दुहबी–तेतरिया–मोतिपुर–चन्द्रगढी जोड्ने रणनीतिक सडक पनि जोड्ने बताइएको छ । सङ्घीय सरकार सडक विभागद्वारा पुल निर्माण भएपछि भद्रपुरदेखि इनरुवासम्म जान तथा नयाँ बजार–मोतिपुर– सिद्रहा हुँदै बेलबारीसम्म आवतजावत गर्न सहज भएको स्थानीय बताउँछन् ।
धरानको सूर्या एन्ड सन्स प्रा.लि. नामक निर्माण कम्पनीले २०७५ वैशाख १३ गतेदेखि काम सुरु गरेको थियो । झण्डै ९७ मिटर लामो पुलका लागि सरकारले भ्याट बाहेक ८ करोड ३५ लाख ४५ हजार ७७८ रुपैयाँ लगानी गरेको छ ।
कसेनीमा बाढीले बगाएको पुलभन्दा झण्डै ७ किलोमिटर दक्षिणमा पर्ने उक्त पुल निर्माण भएपछि आवतजावतमा धेरै सहजता भएको ग्रामथान ४ का स्थानीय खिलेश्वर सुवेदी बताउँछन् ।
सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सुरेश झाका अनुसार बाढीले भत्काएको ग्रामथान जोडने पुल अबको डेढ महिनाभित्र शतप्रतिशत निर्माण हुने बताउनुभयो । हाल ९५ प्रतिशत काम सम्पन्न भइसकेको उहाँको दाबी छ ।
बेलबारी र ग्रामथान गाउँपालिका जोड्ने पुल यसअघि लोहन्द्राको खोलामा आएको बाढीले बगाएको र त्यहाँ बनि नसकेको कारण यो बाटो एकदमै उपर्युक्त रहेको त्यस क्षेत्रका निवर्तमान सङ्घीय सांसद अमनलाल मोदीको भनाइ छ ।
पुल बनेपछि किसानलाई धेरै सहज भएको ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले बताए । ‘बाढी आयो भने खोलाबाटै तर्नुपर्ने बाध्यता किसानलाई थियो, पुल बनेपछि खेतीपातीमा जान आउनका लागि पनि किसानलाई सहज भएको छ,’ उनले भने, ‘बेलबारी, कसेनी, मोतिपुर जोड्न मात्रै नभएर झापाको भद्रपुरबाट विराटनगरसम्म आउजाउका लागि पनि यो पुल महत्त्वपूर्ण रहेको छ ।’








प्रतिक्रिया राख्नुहोस्