तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको बैठक : बजेटमाथि छलफल जारी

मकवानपुर । बागमती प्रदेश सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेटमाथिको छलफल आजबाट शुरु भएको छ । प्रदेश सरकारले आगामी वर्षको लागि असार १ गते प्रस्तुत गरेको ५७ अर्बको बजेट माथि १७ दिनपछि बिहीबार आय र व्यय माथि सामान्य छलफल भएको हो ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले अनुमानित आय र व्यय माथिको वार्षिक अनुमानमाथि छलफल शुरू गर्नुहुँदै प्रदेश सदस्यले आफ्नो आफ्नो धारणा राख्नुभएको छ । छलफलमा भाग लिँदै सांसद विराजभक्त श्रेष्ठले यो वर्ष सवारी साधन कर पूर्ण छुट दिन सरकारलाई आग्रह गर्नुभएको छ । सवारी साधन राम्रोसँग चल्न नपाएका कारण सरकारले कर छुट गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले बजेट ल्याउँदा ४ वर्षको बजेटको समीक्षा गर्नुपर्ने भन्दै कर्मकाण्डीको लागि औपचारिक छलफल गर्न नहुने बताउनुभयो ।

सांसद लेखनाथ दाहालले पनि औपचारिकताको लागि छलफल गर्ने र पारित गर्न गणितीय माध्यम हुने भन्दै यस्तो परम्परा सच्चाउनुपर्ने बताउनुभयो । सरकारले विपद् व्यवस्थापनमा पर्याप्त बजेट छुट्टाउन उहाँले माग गर्नुभयो । सांसद प्रभात तामाङले आय र व्यय दुवैको अनुमान प्रदेश सरकारको काल्पनिक भएको बताउनुभयो । चालू वर्षको चैत्र सम्म ३२ प्रतिशत बजेट खर्च भएको भन्दै सरकारसँग बजेट खर्च गर्ने सक्न क्षमता नभएको उहाँले बताउनुभयो । 

राजश्व आम्दानी गर्न र खर्च गर्न दुवैमा सरकार फेल भएको उहाँले आरोप लगाउनुभयो । गीत गाउनलाई र चुनावी बजेट मात्र बाँडफाँड गरेको भन्दै आगामी बजेट कार्यान्वयन नै नहुने उहाँले ठोकुवा गर्नुभयो । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांसद इन्द्रमाया गुरुङले भने बाढी पहिरोमा परेर बेपत्ता भएकाहरुको खोज गर्न सरकारसँग आग्रह गर्नुभयो । यस्तै मेलम्ची, हेलम्बुमा बेलिब्रिज सञ्चालनमा तत्परता देखाउन आवश्यक भएको गुरुङले बताउनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ मन्त्री ढुङ्गेलले शुक्रवार दिनुहुने भएको छ । प्रदेश सभा बैठक शुक्रवार १२ बजेका लागि बोलाइएको छ ।

यस्तै बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको बारेमा सदनलाई जानकारी गराउनुभएको थियो । प्रदेशमा प्रदेश पर्यटन सम्बन्धी विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक र सडक पारवाहन सम्बन्धी विधेयकमाथि छलफल अगाडि बढाइने भएको छ । बिहीबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले प्रदेश पर्यटन सम्बन्धी विधेयक बैठकमा टेबुल गर्नुभएको हो । यस्तै प्रदेश सडक पारवाहन सम्बन्धी विधेयक समा भएको छलफल सदनमा पेश गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button