तपाईँ सुन्दै हुनुहुन्छः

पहिराबाट घर भत्किदा सात घाइते

दमौली । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र  भिमादमा घर भत्किदा सात जना घाइते भएका छन् ।  

बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पहिरोमा परी बन्दीपुर–३ तामुङमा सुभाष थापा, लिल बहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् । सोही ठाउँका ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको  मृत्यु भएको छ ।

भिमाद नगरपालिका –५ मा पहिरोले घर भत्किदा ४५ वर्षीय बुद्धिबहादुर परियार र उनीका २५ वर्षीय छोरा रोजन घाइते भएका छन् । उनीहरूको भिमाद पोलिक्लिनिकमा उपचार भइरहेको छ । प्रहरीले घर भत्किदा रु पाँच लाख बराबरको क्षति भएको छ । 

शुक्लागण्डकी नगरपालिका –९ सिम्लेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खगीमाया भुजेल र १४ वर्षीय विज्ञान  घाइते भएका छन् । उनीहरूको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । 

यसै गरी भिमाद नगरपालिका–७ पट्नेरीमा माटोको ढिस्को खसेर पहिरो जाँदा मनीषा परियारको घरमा क्षति पुगेको छ । पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण रु दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बन्दीपुर गाउँपालिका–१ चिसापानीमा पहिरोले राजु खड्गीको एक तल्लो गारो लगाएको घर भत्किदा रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै शुक्लागण्डकी–९ सिम्लेमा टेकबहादुर महतको गोठ भत्किदा गोठमा रहेका दश बाख्रा र एक भैँसी मरेका छन् । प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले पहिरोबाट थप क्षतिको विवरण नआइसकेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button