तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् लाइन अण्डरग्राउण्ड गर्ने बारेमा स्थानीयबीच विवाद हुँदा नगरपालिका अगाडिको सडक कन्तबिजोग

भक्तपुर । स्थानीय स्थानीयबीचको विवादका कारण मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्गस्थित सडकको अवस्था कन्तबिजोग बनेको छ । 

७०० मिटर उक्त सडक कालोपत्रे गर्नका लागि नगरपालिका रु. ६० लाख बजेट विनियोजन गरेर ढलको व्यवस्था गरिसकेपछि आएको विवादका कारण कालोपत्रे रोकिदा सडकको खाल्डो र हिलाम्मे हुँदा कन्तबिजोग बनेको छ ।

सडकमा हाल्न ल्याएको ग्राभेलसमेत बिछ्याउन नदिएपछि कतै ग्राभेलको थुप्रो छ भने, कतै खाल्डो र ढलको मङ्गल राख्ने ठाउँ खुला रहँदा निकै जोखिम बढेको छ ।

सडकको बीच र व्यक्तिको घर तथा जमिन माथि भएर गएको विद्युतको हाइटेन्सन लाइनलाई अण्डरग्राउण्ड गरेर लैजाने तयारी भएपछि स्थानीयबीच विवाद भएको नगरपालिकाका भनाई छ । 

नेपाल विद्युत् प्राधिकरणले दुई करोडको बजेट खर्च गर्दै सडकभन्दा पाँच फिट तलबाट अण्डरग्राउण्ड गर्दै हाइटेन्सन लाइन लैजाने गरी स्थानीयसँग सहमति गरेको थियो । 

विद्युत् अण्डरग्राउण्ड गर्न स्थानीय उपभोक्तासँग करिब रु. १ करोड सङ्कलन समेत गरेको र विद्युत् अण्डरग्राउण्ड गर्न रु. १ करोडको सामानसमेत आइसकेको छ ।

स्थानीयमध्येका एक पक्षले हाइटेन्सन लाइनलाई अण्डरग्राउण्ड गरेर मात्रै सडक कालोपत्रे गर्नुपर्छ भन्ने र अर्को पक्ष विद्युत् लाइनलाई अण्डरग्राउण्ड नगरी कालोपत्रे गर भन्दै स्थानीय बीच नै दुई भागमा विभाजित भएपछि अण्डरग्राउण्ड र कालोपत्रे गर्ने दुवै काम रोकिएको हो । 

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले २०७४ सालदेखिको विवाद मिलाउँदै सडकको सिमाङ्कनका क्रममा मापदण्ड भित्र परेका संरचनामध्ये घर नभत्काउने र पेटी नछाड्ने सहमति गरी सडक सिमाङ्कन सकेर कालोपत्रे गर्न सुरु भएपछि नयाँ विवादका कारण सडक निर्माण गर्ने कार्य रोकिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।

चालू आ.ब.मै कालोपत्रे सम्पन्न गर्ने गरी सडकको टेन्डर स्वीकृत भएको एक वर्ष बित्न लाग्दा पनि निर्माण व्यवसायीले काम गर्न पाएको छैन । 

नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ, “नगर प्रमुखले पालिका अगाडिकै सडक कालोपत्रे गरेन भनेर बाहिर हल्ला चलाइएको छ तर यहाँका बासिन्दासँग छलफल गरेर सहमतिको प्रयास गरेको हो, तर स्थानीयको विवादका कारण सडकको काम रोकिएको हो ।”

विवाद र अवरोध नभए सडक तत्कालै कालोपत्रे गर्न निर्माण कम्पनी तयार रहेको भन्दै उहाँले नगरको कार्यपालिका बैठकले सहमतिका लागि उपप्रमुखलाई जिम्मेवारी दिएको जानकारी दिनुभयो ।

नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले स्थानीयमै विवाद हुँदा विकास रोकिनु दुर्भाग्य भएको बताउनुभयो । विद्युत् अण्डर ग्राउन्ड गर्नु हुन्छ र हुँदैन भन्ने स्थानीय दुई पक्षलाई एकै ठाउँमा राखेर छलफल गरेर सहमति भएपछि सडक कालोपत्रे हुने बताउँदै त्यसका लागि आफूले समन्वय गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button