रुपन्देहीको देवदहमा मेसिनद्वारा धान रोपाई सुरु

रुपन्देही । रुपन्देहीको देवदह क्षेत्रमा धान रोप्ने मेसिनद्वारा धान रोपाई सुरु भएको छ ।
देवदह नगरपालिका–८, टटेरामा प्रविधिमार्फत धान रोपाई गर्ने काम सुरु भएको हो ।
देवदह क्षेत्रमा पहिलो पटक प्रविधिबाट धान रोपाई सुरु गरेको हो ।
प्रविधिको माध्यमबाट धान रोपाइँको एक कार्यक्रमका बीच देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा शुभारम्भ गर्नु भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख खत्रीले यान्त्रिकबाट धान रोपाई गर्दा उत्पादन वृद्धि हुनुको साथै लागत मूल्य पनि घट्ने बताउनुभयो ।
उहाँले धान उत्पादन वृद्धि गर्नको लागि जग्गाको चक्लावन्दी गर्न आवश्यक रहेको औँल्याउँदै जग्गा चक्लाबन्दीको लागि कृषकहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले यान्त्रिकद्वारा खेती गर्दा लागत मूल्य घट्नुको साथै उत्पादनमा समेत वृद्धि हुने बताउनुभयो । देवदह नगरपालिकाले कृषि उत्पादन वृद्धिको लागि जग्गा चक्लाबन्दीको योजना अगाडि सारे पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले जग्गा बन्दाबन्दी गर्ने किसानलाई देवदह नगरपालिकाले १० हजार अनुदानको समेत व्यवस्था गरेको बताउनुभयो ।
उपप्रमुख विद्यालक्ष्मी गुरुङले अबका दिनमा कृषि पेसामा युवाहरूलाई जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले परम्परागत कृषि गरिरहेको र कृषिमा परिवर्तन ल्याउन चुनौती रहेको बताउनुभयो ।
शक्तिमान कम्पनीद्वारा निर्मित ४ हाउस पावरको मेसिनले एक घण्टामा १० कट्ठा जग्गामा धान रोप्न सकिने उदयकुमार सिंहले बताउनुभयो ।
उहाँले नेपालमा यान्त्रिक भित्रिए पनि कृषकले महँगो मूल्य तिर्नुपर्ने बताउँदै यसको लागि सरकारले कृषकलाई यान्त्रिकमा अनुदानको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
हातले रोपेकोभन्दा प्रविधिले रोपेको धान उत्पादन धेरै हुने भेषराज पाण्डेले बताउनुभयो । उहाँले मेसिन प्रयोग गरी गरिएको धान रोपाइँमा सम्मान गहिराइमा धान रोप्न सकिने बताउनुभयो । उहाँले सरकारले कृषकहरूलाई यान्त्रीकरणमा प्रोत्साहन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्