तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दामा ४४ वर्षदेखि फरार दुई जना पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले कर्तव्य ज्यान मुद्दामा ४४ वर्षदेखि फरार रहेका ७० वर्षीय दुई जना पुरुषलाई पक्राउ गरेको छ ।

२०३४ साल जेठ २३ गते राती ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या गरी फरार रहेका रुपन्देहीको साबिक बलरामपुर गा।वि।स।७ हाल लुम्बिनी सांस्कृतिक नगरपालिका २ बस्ने ७० वर्षीय चिनगुद चाई र सोही स्थानका ७० वर्षीय कप्तान चाईलाई प्रहरीले पक्राउ गरेको हो ।

२०३४ साल जेठ २३ गते दुई जनाको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतको २०४० साल वैशाख ८ गतेको फैसलाले जन्मकैद सजाय तोकेको थियो । तर उनीहरू हालसम्म पनि प्रहरीको नजरमा फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार इलाका प्रहरी कार्यालय मझंगावाबाट खटिएको प्रहरी टोलीले लामो समयसम्म उनीहरूको आफ्नै घरबाट लुकिछिपी रहेको अवस्थामा मङ्गलवार पक्राउ गरेको हो ।

उनीहरूलाई बुधवार जिल्ला अदालत भैरहवामा पेस गरी तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार रुपन्देही चलान गरिएको प्रहरीले जनाएको छ ।

वैशाख १ गतेदेखि फरार रहेका प्रतिवादीविरुद्ध अप्रेसन सञ्चालन गरेको रुपन्देही प्रहरीले साढे दुई महिनाको अवधिमा जघन्य अपराधमा संलग्न १० वर्षभन्दा बढी सजाय तोकी फरार रहेका २१ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button