तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय पहिचान अभिवृद्धि गर्न वायुसेवा निगमको उल्लेखनीय भूमिका

काठमाडौं।राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औँ वर्ष पुरा गरी स्थापनाको ६४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बिच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।

देशलाई आइपरेका विभिन्न विपत्तिमा उडान सारथि बनेर होस् या भूकम्प र नाकाबन्दीका बेला पु¥याएको योगदान स्मरणीय छ । निगमले अहिलेको कोभिड–१९ महामारीका सन्दर्भमा पनि मेडिकल चार्टर्ड उडान, उद्धार उडानलगायतका सेवालाई निरन्तरता दिएको छ ।

निगम स्थापना दिवका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी आफूले पु¥याउनुपर्ने सेवा प्रदान गरी राष्ट्रिय पहिचान अभिवृद्धि गर्न निगमले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । साथै उहाँले निगमले आफ्नो कार्य सम्पादन र सेवा प्रवाहलाई परम्परागत ढाँचामा सीमित नराखी नयाँ–नयाँ अवधारणासहित भूमिकालाई थप व्यापक बनाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीमा पनि निगमले निर्वाह गरेको सक्रियता र सराहनीय कामलाई भविष्यमा पनि निरन्तरता दिई आफ्नो सेवालाई विश्वसनीय एवम् पारदर्शी बनाई राष्ट्रिय आकाङ्क्षा पुरा गर्न निगम सफल बनोस् भनी शुभेच्छा प्रकट गर्नुभएको छ ।
यस्तै पर्यटन मन्त्री लिलानाथ श्रेष्ठ, पर्यटन सचिव यादवप्रसाद कोइरालाले पनि शुभकामना सन्देश दिँदै निगमको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमलाई व्यावसायिक, पारदर्शी र प्रविधिको उच्चतम उपयोग गर्दै निगमको गौरवशाली साख जोगाउनेतर्फ केन्द्रित भएको उल्लेख गर्नुभएको छ । उहाँले निगमले हवाई बजारमा आफ्नो उपस्थिति दरिलो बनाउने गरी रणनीतिक कार्य योजना (एकीकृत व्यावसायिक योजना, २०२१(२०३०) तर्जुमा गरी कार्यान्वयन गर्ने तहमा पुगिसकेको अवस्थामा कोभिड महामारीलाई मात्रै व्यवयासिक उपलब्धिको बाधक बनाइनु हुँदैन भन्नेमा आफूहरू प्रतिबद्धताका साथ लागि परेको बताउनुभयो ।

निगमसँग हाल भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारो बडी जहाज छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button