तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण पर्साको दर्जनौँ बस्ती डुबानमा

वीरगञ्ज। मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौँ बस्ती डुबानमा परेका छन् ।

असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरूबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरू डुबानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरूमा पनि पानी छिरेको छ । प्लास्टिकजन्य फोहोरहरू सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ । अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमिनसमेत कटान गरेको छ ।

वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँवस्ती, निर्मल बस्ती, मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक, सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । यसै गरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती डुबानमा परेको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रह्मदेव साहले राससलाई बताउनुभयो । उहाँले बाढी पहिरोको जोखिममा रहेका बस्तीहरूमा सुरक्षाकर्मीहरुले तदारुकताका साथ खटिने गरेकाले अहिलेसम्म कुनै पनि मानवीय क्षतिको घटना हुन नसकेको बताउनुभयो ।

लगातारको अविरल वर्षाका कारण ओरिया खोलामा आएको बाढीले वीरगञ्ज ठोरी हुलाकी सडक खण्डको गोपी बस्ती नजिकै सडकलाई क्षति पु¥याएको छ । हुलाकी सडक जोगाउन निर्माण गरिएको तटबन्ध बाढीले भत्काएकाले सो क्षति हुन गएको हो । सो खोलाको बाढीले ठोरी गाउँपालिका—१ देखि ४ सम्ममा क्षति पु¥याएको छ भने सडक सम्पर्क विच्छेद भएपछि स्थानीयवासी लाई आवतजावतमा समस्या परेको स्थानीयवासी सञ्जय कुमारको भनाइ छ । यसै गरी धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लङ्गडी, आसवारी, जगरनाथपुर गाउँपालिकाको मधुबासा, झाखरा, मसियानी, छिपहरमाई गाउँपालिकाको भिस्वा, जयमङ्गलपुर, झलमैहिया, मिर्जापुर, बघमरी, टिहुकी, बुडगाई, भुलुवाहीलगायत दर्जनौँ गाउँ डुबानमा परेको छ भने त्यहाँका स्थानीयवासी लाई एक गाउँबाट अर्को गाउँसम्म जान समस्या परेको छ ।

यसै गरी बाढीका कारण पर्साको जीराभवानी गाउँपालिका—१ पिपराका दर्जनौँ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी शङ्कर दास, किशुन महतो, जङ्गाली राय, खिचडी महतो, शिवशङ्कर दासलगायत १६ जनाको घर डुबानमा परेको हो । पानीले स्थानीयवासी राजकुमार दास, ब्रह्मदेव दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर भत्किएको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ । बाढीबाट पीडित भएकाले स्थानीय सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button