चितवन समाचार : कयरखोलाले बगाएका दुई व्यक्तिको उद्धार
चितवन। पूर्वी चितवनको कयरखोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो ।
स्कुटर भने खोलाले बगाएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूलाई खोलाले आज बिहान ८ः३० बजे बगाएको थियो । खोलाबाट उद्धार गरेसँगै उनीहरू गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
१७० परिवारलाई स्थानान्तरण
निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दर बस्ती र खुरखुरेलगायत क्षेत्रका बस्तीमा खोला पस्दा ती परिवार विस्थापित भएका हुन् ।
बाढीको जोखिममा रहेका उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँ रहेका ४०० जनालाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै बूढी राप्तीमा आएको बाढीले डुबान गर्दा २० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका–८ रमाइलो डाँडामा बाढी पस्दा २० परिवारका १०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
चट्याङ लागेर घाइते
चट्याङ लागेर एक महिला घाइते हुनुभएको छ । राप्ती नगरपालिका–९ लालपुरकी ४५ वर्षीया बिजुली श्रेष्ठलाई आफ्नै घर नजिक धान रोप्ने क्रममा चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार बिहान ८ः३५ बजे श्रेष्ठलाई चट्याङ लागेको हो । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।
दुई महिनापछि उडान गर्दै भरतपुर विमानस्थल
दुई महिनादेखि बन्द अवस्थामा रहेको भरतपुर विमानस्थलले आजदेखि उडान सुरु गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण निषेधाज्ञासँगै बन्द भएका यहाँको उडान पुनः सुरु गर्न लागिएको हो ।
विमानस्थल प्रमुख योगेन्द्र कुँवरले कोभिड नियन्त्रणको सुरक्षा मापदण्ड कार्यविधिअनुसार विमानस्थलमा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो । स्थानीय प्रशासनले गत वैशाख १६ गते रातिदेखि निषेधाज्ञा गरेसँगै बन्द भएको उडान आजबाट सुरु गर्न लागिएको हो । उहाँले मास्क, भाइजर, सामाजिक दूरी कायम गर्नुपर्ने, डिस इन्फेक्सन गरेर मात्रै उडान गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । शुरुआती समयमा उडान कम हुने उहाँले बताउनुभयो । भरतपुर विमानस्थलमा यात्रुलाई बस्नका लागि बनाइएका प्रतीक्षालयमा सामाजिक दूरी कायम गर्नका लागि सन्देशमूलक चिह राखिएको उहाँको भनाइ छ ।
निषेधाज्ञाअघि विमानस्थलबाट आठ सयदेखि एक हजारसम्म यात्रु दैनिक आवतजावत गर्ने गरेको उहाँले बताउनुभयो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्त बस्नेतले आजदेखि सुरु गर्न लागिएको उडान कटौती गरिएको जानकारी दिनुभयो । दैनिक छ वटासम्म चितवन–काठमाडौँ उडान हुँदै आएकामा अहिले तीन मात्र उडान हुने उहाँले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी उडान गरिने छ । त्यसका लागि तयारी गरिएको बस्नेतको भनाइ छ । यसअघि बुद्धसँगै भरतपुरबाट यती एयरलाइन्सले दैनिक चारसम्म उडान भर्दै आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्