चानुवा–काठमाडौँ सद्भाव समाजद्वारा स्वास्थ्य सामग्री सहयोग

चानुवा–काठमाडौँ सद्भाव समाजले धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेका कोरोना सङ्क्रमितका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
महालक्ष्मी नगरपालिका वडा न. ४ साबिकको चानुवा गाविसमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रूप बढेपछि समाजले सङ्क्रमितका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
समाजले सक्रिय सङ्क्रमितलाई वितरण गर्ने गरी स्थानीय स्वंयमसेविकाहरुलाई ४ हजार ५ सय थान मास्क, नब्बे वटा डिजिटल थर्माेमिटर, १ सय ८० थान साबुन, ९ थान स्प्रे स्यानिटाइजर, १८ थान फेससिल्ड आज हस्तान्तरण गरेको छ ।
यस्तै समाजले स्वास्थ्य चौकी चानुवालाई २ वटा अक्सोमिटर, ५ सय थान मास्क, १० थान डिजिटल थर्माेमिटर, ५ लिटरको एक जार ह्याण्ड स्यानिटाइजर, २ थान पिपिई सेट, एक थान ग्लोबस् र १० थान फेससिल्ड समेत हस्तान्तरण गरेको छ ।
चानुवा–काठमाडौँ सद्भाव समाजको सक्रियतामा सङ्कलित आर्थिक सहयोगमार्फत व्यवस्थापन गरिएको सो सामग्री वडास्थित स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार थापा, प्रहरी चौकी चानुवाका इन्चार्ज प्रकाश चौधरी, समाजसेवी बाबुराम कुवर र स्थानीय बुद्धिजीवी एवम् समाजसेवी जगत पौडेलको सहयोगमा समाजका प्रतिनिधि सागर बुढाथोकीले हस्तान्तरण गर्नुभएको थियो ।
महालक्ष्मी नगरपालिका वडा न. ४ मा सङ्क्रमणको दर तीव्र हुँदै गएपछि सो सहयोग हस्तान्तरण गरिएको र आगामी दिनमा पनि आवश्यक अन्य सहयोग गर्दै जाने समाजले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्