किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले किसानलाई अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ ।
६ वटै वडाका किसान र व्यावसायिक कृषक फर्म समूहहरूलाई ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले जानकारी दिनुभयो ।
किसानहरूलाई फलफूल खेतीमा व्यावसायिक बनाउन ३५० जना किसानलाई ४ हजार ५ सय सुन्तला र २ हजार ५ सय कागती गरी करिब ७ हजार पोलि ब्यागसहितको बिरुवा वितरण गरिएको गाउँपालिकाले अध्यक्ष पौडेलले बताउनुभयो ।
गाउँपालिकाले पचास प्रतिशत र सम्बन्धित किसानले पचास प्रतिशत ब्यहोर्ने गरी बिरुवा खरिद गरिएको हो ।

गाउँपालिका अध्यक्ष पौडेलले भन्नुभयो, ‘‘किसानलाई आर्थिक रूपमा सक्षम बनाउन व्यावसायिक खेती पद्धतिलाई हामीले जोड दिएका छौँ । स्थानीयलाई फलफूल खेतीबाट पनि आत्मनिर्भर गराउने दैनिक उद्देश्य हाम्रो हो ।’’
कृषिसँगै पर्यटनको पनि प्रशस्त सम्भावना बोकेको पालिकाले भर्खरै सम्पन्न भएको गाउँ सभाले पनि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राख्दै सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ४ सय ५० स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गरिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो । ‘कृषकको चाहना अनुसार वहाँहरूले के–के जातका फलफूल लगाउन चाहनुहुन्छ । वडा कार्यालयमार्फत निवेदन माग गरी बिरुवा वितरण गरेका हौँ ।’ आचार्यले भन्नुभयो ।
जग्गामा बढ्दै गएको अम्लीयपनको निवारणका लागि गाउँपालिकाभित्र ११ टन कृषि चुन समेत पालिकाले निःशुल्क वितरण गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्