तपाईँ सुन्दै हुनुहुन्छः

यमनका हुथी विद्रोहीद्वारा मरिब क्षेत्रमा क्षेप्यास्त्र प्रहार

साना(रासस–सिन्ह्वा)।यमनका हुथी विद्रोही समूहले सरकारी नियन्त्रणमा रहेको मरिब शहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

हुथी समूहका सैनिक प्रवक्ता याह्या सारेयले एक विज्ञप्ति प्रकाशन गरी हुथी समूहले मरिब शहरस्थित सेनाका साहन अल–जेन क्याम्प र क्षेत्रीय क्याम्प गरी दुई ठाउँलाई लक्षित गरिएको बताउनुभएको छ ।मरिबका स्वास्थ्यकर्मी र स्थानीयबासीले हुथीले प्रहार गरेको क्षेप्यास्त्र आवासीय इलाकामा खसेको बताउँदै यस आक्रमणबाट एक बच्चा सहित तीन जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

इरान समर्थित हुथी समूहले मध्य यमनको तेल खानी रहेको मरिब क्षेत्रलाई नियन्त्रणमा लिन पछिल्ला केही दिनदेखि सरकारी सेना विरुद्ध कारबाही थालेको छ । यहाँ साउदी अरबको समर्थन प्राप्त यमनको सरकारी सेनाको नियन्त्रण छ ।मरिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झण्डै २० लाख मानिस रहेका छन् । यमनमा जारी गृहयुद्धका कारण दश हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने लाखौं मानिस अन्यत्र पलायन भएका छन् ।

संयुक्त राष्ट्रसंघले हालै द्वन्द्वरत पक्षहरुलाई वार्तामा ल्याई युद्धबिराम गराउने प्रयास समेत विफल भएको थियो ।यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ । यमनका प्रमुख विद्रोही समूह हुथीले राजधानी साना सहित सबैजसो उत्तरी प्रान्तहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button