बढी भाडा लिने ८ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरू समस्यामा पर्न सक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरी परिचालन गरेको विशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउन्टरहरूमा निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाइ गर्ने, यात्रुहरूसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।
काठमाण्डौं बाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, बर्ष ३८ का कुशलराम बस्नेत, बर्ष २८ का गिम बहादुर गाहा मगर, रुपन्देहीका वर्ष ३६ का दिप नारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।
काठमाण्डौबाट बा१६च २१८४ नम्बरको प्राइभेट गाडीमा उपयदुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ बर्षे राकेश रसाईली पक्राउ परेका छन् । रसाइलीले प्रति यात्रुसँग ३ हजार रुपैयाँका दरले भाडा लिएका थिए । यसै गरी चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरूसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा लिने २५ वर्षका झनक बहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ना१ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञा पश्चताको यो अवधिमा उपत्यका बाहिर जाने यात्रुहरूसँग तोकिएको भन्दा आठ गुणाबढि सम्म भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउन्टरका कर्मचारीहरूलाई पक्राउ गरी कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।ट्राफिक महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
भाडामा यात्रु ओसार्ने ४७ वटा निजी सवारी साधनहरू कारबाहीमा
बिशेषगरी काठमाडौँ उपत्यका बाहिरिने यात्रुहरूसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राइभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । त्यस्ता निजी नम्बर प्लेटका गाडीहरूले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाइएपछि कारबाही गरेको महाशाखाले जनाएको छ ।
“भाडाका सवारी साधनहरूको जस्तै बोलेरो, स्कार्पियो लगायतका निजी सवारी साधनहरूले भाडामा यात्रु बोक्ने गरेको पाइएकोले नियन्त्रण एव कारबाही गर्न अभियान नै चलाएको एसएसपी भट्टराईले जानकारी दिनुभयो । उहाँले जोर बिजोर प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारबाही पनि सँगसँगै लगिएको समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्