तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प पीडितलाई १ लाख निकासा दिँदा ३० हजार घुस लिने सब–इन्जिनियर पक्राउ

ओखलढुङ्गा।ओखलढुङ्गामा भूकम्प पीडितसँग घुस लिने पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) बाट सिनपा १ तलुवामा खटिएका सब–इन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।

पासवानले भूकम्प पीडितलाई तेस्रो किस्ता रकम निकासा गरिदिन्छु भन्दै सेवाग्राहीबाट नगद ३० हजार घुस रकम लिएका थिए । उनले घुस रकम लिँदै गरेको गोप्य सूचनाको आधारमा निशंखेबाट रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द काफ्लेले जानकारी दिनुभयो ।भूकम्प पीडितले निजी आवास निर्माण बापत पाउने तेस्रो किस्ता रकम निकासामा ढिलाइ भएको र आफूले सहजीकरण गरे मात्रै निकासा हुने आश्वासन दिएर सब–इन्जिनियर पासवानले घुस लिएका थिए ।

पक्राउ परेका कर्मचारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।ओखलढुङ्गामा पुनर्निर्माणका कर्मचारीले लाभग्राहीसँग विगतमा पनि घुस लिने गरेको तथ्य भेटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button