तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा दुई महिना पछि सवारी साधन सञ्चालनमा

कञ्चनपुर । दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात दुई महिनापछि आजबाट सञ्चालनमा आएको छ । 

जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णय अनुसार आजबाट जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन आएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी आजदेखि बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन गर्न दिइने बताउनु भएको छ ।

स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि सार्वजनिक सवारी बन्द भएका थिए । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन भने निर्बाध रूपमा सञ्चालन गर्ने दिइने भएको छ ।

जिल्ला बाहिर जाने एम्बुलेन्स र मालवाहक ढुवानीका साधन बाहेक अन्य सवारी साधनको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने छ । 

स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गरी असार २१ गतेसम्म निरन्तरता दिएको छ । पसल खोल्ने समय तीन घण्टा बढाएर साँझ ६ बजेसम्म पुर्‍याइएको छ । यस अघि बिहान ०६ देखि दिउँसो ३ बजेसम्म मात्रै पसल खोल्न दिने गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button