कोरोनाले सिकाएको भर्चुअल प्रविधिको उच्चतम प्रयोग

काठमाडौँ । कोरोना महामारीका कारण पटक पटक लकडाउन र निषेधाज्ञा हुन थालेको झण्डै १५ महिना पुरा भइसकेको छ ।
यसले प्रत्यक्ष भेटघाट र विद्यालयको पठनपाठनदेखि समग्र क्षेत्रलाई नकारात्मक प्रभाव पारेको छ ।
यसका बाबजुद पनि लकडाउन तथा निषेधाज्ञाले विद्यालय तहको पठनपाठनदेखि विभिन्न विषयमा हुने तालिम एवं प्रशिक्षणका लागि आधुनिक प्रविधि अर्थात् भर्चुअल माध्यमको प्रयोग निकै बढेको छ । तर यसको प्रभावकारिता कत्तिको छ तरु
अनलाइन तथा विद्युतीय माध्यमबाट गरिने पठनपाठन एवं तालिमहरू हाम्रा लागि नौलो प्रयास हो तर विश्वलाई नै प्रविधिले एक ठाउँमा ल्याएर साँघुरो बनाइरहेको अवस्थामा प्रविधिको प्रयोग गर्दै अगाडी बढ्नुको विकल्प भने देखिँदैन ।
कोरोना महामारीका कारण विश्व नै आक्रान्त भइरहेको अवस्थामा परिवारका सदस्य, छर छिमेक आफन्त समेत एकै ठाउँमा जमघट भएर भेटघाट गर्ने अवस्था छैन ।
तर पनि हामी एक अर्कासँग टाढा रहन सक्दैनौ । त्यसैले पनि अहिले आधुनिक प्रविधि भेटघाटको दरिलो माध्यम बनेको छ । योसँगै मानिसलाई सिक्ने र सिकाउने कुरामा पनि प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
यसबीचमा विभिन्न विषय तथा क्षेत्रका प्रशिक्षणहरू आधुनिक प्रविधिका माध्यमबाट तीव्र रूपमा सञ्चालन भइरहेका छन् । बैठक तथा छलफलका लागि उपयोग हुने जुम, भुव, माइक्रोसफ्टटिम्स, भाइवर, म्यासेन्जर लगायत विविध सफ्टवेयरका माध्यमबाट सिप विकास, दैनिक आनीबानी व्यवस्थापनका साथै उत्प्रेरणात्मक तालिम दिने कामहरू समेत भइरहेको आधुनिक प्रविधिमार्फत प्रशिक्षण दिँदै आउनुभएका एक जना प्रशिक्षक मुक्तिनाथ गैह्रेले बताउनुभयो ।
प्रशिक्षण लिनका लागि अनलाइनमा बस्नुभएका प्रशिक्षार्थीहरूलाई भौतिक रूपमै उपस्थित भएजस्तै प्रभाव पार्ने गरी प्रशिक्षण दिनुपर्ने भएकाले प्रशिक्षकका लागि भने यो विषय चुनौतीपूर्ण छ । तर प्रशिक्षण लिइसकेपछि प्रशिक्षार्थीहरूबाट आउने सकारात्मक प्रतिक्रियाले भने सिकाइ फलदायी र प्रभावकारी भएकोमा विश्वस्त रहेको प्रशिक्षक गैह्रेले बताउनुभयो ।
यसरी विद्युतीय माध्यमबाट सञ्चालन गरिएको तालिममा प्रशिक्षार्थीहरूको प्रतिक्रिया निकै सकारात्मक रहेको र उनीहरू तालिममा आकर्षित समेत देखिएका छन् ।
बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रशिक्षणको विकास फरक शैलीमा अगाडी बढेको छ । यस्ता तालिमहरूले नेपालीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अर्का प्रशिक्षक राजाबाबु शाहले विश्वास व्यक्त गर्नुभयो ।
हरेक प्रशिक्षार्थीले प्रशिक्षणलाई सकारात्मक रूपमा लिएको र यसको माग समेत थप बढ्दै गएको पनि प्रशिक्षक शाहले जानकारी दिनुभयो।
कोरोनाका कारण हामीले ठुलो क्षति व्यहोरिरहेका छौँ । यसबाट हजारौँ मानिसको ज्यान गएको छ, लाखौँ सङ्क्रमित छन् भने मुलुकको अर्थतन्त्र खस्केको छ । यी विभिन्न नकारात्मक कुराहरूका बाबजुद पनि हामीले कोरोनाबाट सिकेको सकारात्मक पक्ष के त भनेर खोजियो भने विश्वमा विकास भइरहेको नयाँ नयाँ प्रविधिको प्रयोगमा नेपाल समेत जोडिन सकेको छ । यसरी आधुनिक प्रविधिको प्रयोग गरेर आध्यात्मदेखि योग हुँदै विज्ञान प्रविधि सम्मका विषयमा प्रशिक्षण दिन आफूलाई भ्याइ नभ्याई भएको हिन्दु विद्यापीठ, शान्ति सेवा आश्रम, गुरुकुल आदिका प्रमुख डा। चिन्तामणि योगीले आफ्नो अनुभव सुनाउनुभयो ।
जस्तोसुकै समस्यामा पनि मानिसलाई गतिशील, सृजनशील, कर्मशील र रचनात्मक बनाउनका लागि आधुनिक प्रविधिका यस्ता माध्यम उपयोगी हुने डा। योगीले उल्लेख गर्नुभयो ।
परम्परागत सिकाई प्रणालीमा आधुनिकता ल्याउन र विश्वमा विकास भइरहेका प्रविधिको प्रयोग गरी विभिन्न सीप विकास र व्यक्तित्व विकासमा कोरोना कहरले नयाँ पाठ भने पक्कै सिकाएको छ ।








प्रतिक्रिया राख्नुहोस्