तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक साता निषेधाज्ञा थप, जोरबिजोरमा सवारीसाधन चल्न पाउने

झापा । झापामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याइएको छ । आज राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञालाई स्वरूप परिवर्तन गर्दै असार २१ गते राति १२ बजेसम्म कायम गर्ने निर्णय भएको हो ।झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा अत्यावश्यक काम बाहेक हिँडडुलमा लगाइएको प्रतिबन्ध कायमै रहेको जनाइएको छ ।

हाट बजार, मेला, जात्रा, महोत्सव, पाटी, भोज लगायत भिड भाड हुने कार्यक्रम नगर्न भनिएको छ ।पसल सञ्चालनको हकमा अत्यावश्यक सेवाका बाहेकका अन्य पसलहरू बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने उल्लेख छ ।सवारीसाधन सञ्चालन सम्बन्धमा अत्यावश्यक सेवाहरू बाहेकका सबै प्रकारका निजी सवारीसाधन, सिटी सफारी, अटो रिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका मात्र झापा जिल्ला भर सञ्चालन गर्न दिने आदेश गरिएको छ ।
होटेल तथा रेष्टुरेन्टहरुले भने टेकअवे सेवा मात्र सञ्चालन गर्न पाउने छन् ।

मल तथा बिउ विजन, कुखुराका चल्ला, दाना, पशुपक्षीका आहारलगायतका कृषि सम्बन्धी पसल बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सञ्चालन गर्न दिने उल्लेख छ ।सरकारी, सार्वजनिक संस्थान, बिमालगायतका कार्यालयहरूले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भिडभाड नगराई आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्ने भनिएको छ ।

झापामा पूर्ण निषेधाज्ञा जारी भएयता सातौँ पटक निषेधाज्ञाको आदेश थप गरिएको हो ।जिल्लाको आंशिक निषेधाज्ञालाई गएको वैशाख १७ गतेबाट परिमार्जन गर्दै प्रमुख जिल्ला अधिकारीबाट झापामा हिँडडुलमा पूर्ण प्रतिबन्धसहितको लकडाउन गरिएको थियो ।कोरोना संक्रमण जोखिमको अवस्थालाई हेरेर पछिल्ला दिनहरूमा निषेधाज्ञालाई खुकुलो पारिँदै लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button