तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा बागलुङ सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध

पर्वत। सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्य पहाडी लोक मार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो ।

उक्त स्थानमा सडकभन्दा करिब ५० मिटरमाथिबाट ठुलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध छ । सडकको दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । उक्त स्थानमा विगत देखिनै सामान्य वर्षा हुने बित्तिकै पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध बनेपछि विभिन्न मालबहाक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङलगायत स्थानबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवतजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन् ।

सडक अवरुद्ध हुँदा साबिक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँ पुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटेका सवारीसाधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button