आज राष्ट्रिय धान दिवस : मानो रोपेर मुरी उब्जाउने कर्म

काठमाडौँ ।आज असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म नभई नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्त्व बढी छ ।
कोभिड–१९ सङ्क्रमणका कारण पछिल्लो दुई वर्षदेखि भने यो दिन निकै खल्लो रूपमा बितिरहेको छ । निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्वतःस्फूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारी स्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सीमित छ । गत वर्ष पनि साङ्केतिक रूपमा मनाइएको यो यस पटक पनि त्यसै गरी मनाउनु परेको छ । कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डित, भन्नुहुन्छ, “धानको महत्त्व जोगाउन, किसानलाई प्रेरित गर्न, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिनका लागि मात्रै आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइएको हो ।”
राष्ट्रिय कार्यक्रमको रूपमा आज नेपाल कृषि अनुसन्धान परिषद्को खुमल्टार ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी दिवस समारोह भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री वसन्तकु्मार नेम्वाङले आज सांकेतिकरूपमा धान रोपेर यो दिवस औपचारिकता पूरा गर्नुभयो । उहाँले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
कृषि कर्मलाई नियमित राख्न नसके निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षा हुने भएकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कृषिका गतिविधि नियमित गरिएको कृषि मन्त्रालयले जनाएको छ । सरकारले धानबाली सुरक्षित गर्दै क्षेत्र विस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारेको छ । जमिनको सुरक्षा, शुद्ध बीउ, सिँचाइ कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष्य छ ।
नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।
समारोहमा मन्त्री नेम्वाङले खाद्य तथा पोषण सुरक्षाका लागि धान चामलको अति नै महत्त्व रहेको उल्लेख गर्दै यसको प्रवर्द्धन जरुरी रहेको औँल्याउनुभयो । उहाँले अनुसन्धान, यान्त्रीकरण र आधुनिकीकरणको माध्यमाबाट धानको उत्पादकत्व वृद्धि गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो । “धानको उत्पादन मात्रै होइन, बजारीकरण र भण्डारण व्यवस्थित गर्ने सवालमा सरकार नीतिगत व्यवस्था गर्न लागिरहेको छ, यसको समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ”, मन्त्री नेम्वाङले भन्नुभयो ।
उहाँले ‘कोही भोको रहँदैन, भोकले कोही मर्दैन’ भन्ने सरकारी सङ्कल्प साकार पार्न पनि कृषि क्षेत्रको विकास जरुरी रहेको बताउनुभयो । विकासको गतिमा अग्रसर भएको मुलुकलाई समृद्ध बनाउने भरपर्दो आधार समेत कृषि नै भएको उहाँको भनाइ थियो ।मन्त्रालयका अनुसार यसपालि सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाउन जिल्लामा समेत निर्देशन गरिएको छ । यस पटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । दिवसमा साँस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रममा रोक लगाइएको छ । मापदण्ड नै तयार पारी दिवस मनाउन थालिएको छ ।
दिवस समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले किसानको घरदैलोमा अनुसन्धान पु¥याउन नसके धानको उत्पादन बढाउन चुनौती हुने जिकिर गर्नुभयो । “प्राङ्गारिक र रासायनिक मलको समन्वय जरुरी छ”, कार्कीले भन्नुभयो, “विगतमा मलको हाहाकार भएकाले पहिलो पटक उत्तरी नाकाबाट मल ल्याउन सफल भइएको छ, यसपालि मलमा समस्या भएन, अब सरकारले नेपालमै मल उत्पादन गर्ने योजना अघि बढाएकाले पनि समस्या हट्ने आशा गर्न सकिन्छ ।”
मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपालमा ९६ लाख खाद्यान्न भयो भने पुग्छ तर वार्षिक ४० अर्ब बढीको चामल आयात भइरहेको छ । मानिसको खाने संस्कृति परिवर्तन भएकाले यस्तो भएको कृषि विज्ञको भनाइ छ । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, जन्मनु अघिदेखि मृत्यु पर्यन्तसम्म धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी नयाँ हाइब्रिड धानको विकास जरुरी रहेको औँल्याउनुहुन्छ । उहाँले जलवायु परिवर्तन भइरहेकाले त्यसको प्रभावको आधारमा जातको विकास गरी अर्ग्यानिक उत्पादनलाई समेत प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेमप्रसाद दङ्गाल खाद्य संस्कृति परिवर्तन र मानिसमा भात खाने प्रवृत्तिका कारण मुलुकको उत्पादन भन्दा मसिनो र वास्मतीको रोजाई बढेको हो भन्नुहुन्छ । उहाँले प्रविधिलाई किसानको घरघरमा पु¥याउन नसके धान उत्पादन वृद्धि हुन नसक्ने जिकिर गर्नुहुन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी मसिनो धानको आयात वृद्धि भइरहेको अवस्थामा त्यसलाई रोक्नका लागि हाईब्रिड जातको विकास जरुरी रहेको र परिषद् त्यसतर्फ अघि बढिरहेको छ भन्नुहुन्छ । उहाँले हालैमात्र हर्दिनाथ हाइब्रिड निकालेकाले त्यो धान लगाउन किसानलाई सुझावसमेत दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्