छानो फेर्ने आशमा तीनदिनदेखि सदरमुकाममा एकल महिला

बझाङ । जयपृथ्वी नगरपालिका– १ कैलाश जेठाबाडा घर भएकी गम्भिरा सिंह उमेरले ६६ बर्ष पुगिन् ।
हुम्ला माइत र कैलाश पोइलीघर भएकी गभिराको सानै छँदा विवाह भयो । घाँटीमा पुरानो चौबन्दी माला, नाँकमा मुदुडी, टाउकोमा सेतो मुन्याठो पुरानै शैलीको लवाई, बोलाई र भेषभुषा अहिले सम्म छोडेकी छैन्न । उनले लगाएको चौबन्दी माला देख्दा अहिलेका नयाँ पुस्ता भने अचम्मै पर्छन् । उनले भनिन्,“आफूले चौवन्दीमाला लगाएको देख्दा कतिपय गाउँका मानिसहरू भारी मानिनौ क्या (गह्रौँ हुँदैन ?) भन्दै प्रश्न गर्छन् । म तिनलाई त्यसो भया तमी लुगा जनलाउ पन भन्छु ।
अहिलेका साना देखि ठुलासम्मका हात हातमा मोबाइल छन् । हामी पुराना लाटा जमनाका मान्छे, अहिले उल्टो जमाना आयो । एकातर्फ त निकै छ । अर्को तर्फ कसरी निको छ भनु पुराना मान्छे मोटा, बलिया हुन्थे । उनीहरू सिस्नुको साग खान्थे । काम पनि गर्थे त्यतिखेर फलामका भाँडामा दाल, पितलको भाँडामा भात र कासको बट्क्या (कचौरा) मा दूध, दही खान्थे । अहिले स्टिलका भाँडामा खादा छन् । मान्छे पनि स्टिल जस्तै भयाका छन् । गाउँ गाउँमा देशी चामल, ब्वाइलर कुखुरा पुग्याका छन् । एक छोरा एक छोरी पाउँछन् । त्यही पनि पढाइ सक्दैन भन्छन् । हामीले त्यो बेला लगाउनलाई टालो (लुगा) पाएनौ त्यतिखेर छोराछोरी पढाउन सकिने अवस्था थिएन । अहिले धेरैका पुराना खेत पनि बाँझै छन् ।”
खरको घर वर्षाका पानीले चुहिन थालेपछि पाल र टिन पाइन्छ की भनेर चैनपुर पुगेकी सिंहले भनिन्, घर त्यतिकै पढ्न लाग्या (भत्किन थाल्या ) छ । घरमा कोही छैन । तीन दिन भयो । चैनपुर आयाकी पाल पाइन्छ की भनी । बाहिर जस्तै भित्र पानी आउँछ । गाउँमा पुरानो नलले (खर) छोएको घर मेरै छ । सबैले राम्रो घर लगाई सक्या । घर चुन्या भएपछि अर्कैको घरमा बस्दै आयाकी छु ।
एक छोरा थियो । त्यो पनि केरालाको जेलमा छ । यसपाली खेतमा नल पनि भएन । हुन त मेरो खेतीपाती पनि छैन । उता देवरको छोरा पनि छानामा बस्या छ । लोग्नेका जातले केही गर्नु होइन । मेरा बुढा पनि बितेका ३० बर्ष भन्दा बढ्ता समय भइसक्यो । ३ वर्षकी मुलिया छोरी पाले । बुढेसकालमा आफ्नै घर पाल हालेर बनाया पनि आफ्नाई घरभित्र मन्र्या धोको छ । एक पालले हुन्या हैन । वडा अध्यक्षले एक पाल बनाई दिया । टिन नभया पनि अर्को पाल भया पनि भैगयो । धर्म लाग्ला कतैबाट पालको जुगार गरिदिया । अरु कस्लाई विन्ति विसाउ, क्या गर्नु खानलाई नाज (खाद्यान्न )छैन । अर्कैको घर बस्ने गर्या छु ।”कैलासकी एकल महिला गम्भिरा मात्रै होइनन् ।
सोही गाउँकी ७० वर्षीया जयशिला सिंहको पनि पिडा उस्तै छ । आफूले लगाएको घर कति सालमा लगाएको हो थाहा नभएकी जयशिलाले भनिन्, “नल (खरले) छोएको घरमा पाल हालेर बसेकी छु । नलले छोयका घरमा टिन दिन्या भन्दा छ्या । अहिले सम्म मिलेका छैन्न । गाउँल्या अगाडि नै भत्काउ भन्दा पाल हाल्नाले कपाल लुकाउनाको बाटो भयाको छ । त्यतिकै भत्काउ भन्या का बस्नु हो ? वृद्ध भत्ता आएका पैसाले खाद्यान्न किन्दै ठिक हुन्छ । चामल, तेल खायाको बुझाउँदै साहुको ठिक्क हुन्छ । जम्मा त का बाट गर्नु ? बुढा बितेका पनि धेरै भइसक्यो । बृदभत्ता पाउनाले बाँच्नु बाटो भयाको छ । यै साल त पटकै भयो । गहुँको तादो (बोट) उम्रेन पानी हुन्या ठाउँ गहुँ भयो होला । पानी परेका साल ५ कट्टा गहुँ, जौ हुन्थे । सरकारले बाच्दा सम्म खाऊ भनी दिएकै छ । कसैलाई दिनु छैन । त्यही पनि ठिक्क हुन्छ । अरु त केही छैन । घरमा टिन हाल्न पायपछि ठिक हुन्थ्यो । घरको छानो फेर्ने आशमा रातभर निन्द्रा पनि लाग्दैन । ”








प्रतिक्रिया राख्नुहोस्