तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा निषेधाज्ञा खुकुलो बनाउँदै सात दिनका लागि थप

जनकपुरधाम । कोरोना सङ्क्रमणको दर घट्दै गए पनि कोरोनाको नयाँ भेरिएन्ट देखिएकाले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै सात दिनका लागि धनुषामा थप गर्ने निर्णय भएको छ । 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आज १२ बजे राति देखि २१ गते १२ बजे रातिसम्म लागु हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । 

आर्थिक गतिविधि बढाउनका लागि उद्योग, व्यापार तथा बजार क्षेत्र अव दिनभरि पहिला जस्तै खुल्ला हुन पाउने भएको छ । यसका साथै विकास निर्माण, कृषि क्षेत्रकामा प्रयोग हुने सवारी साधन निर्बाध रुपमा चल्न पाउने भएको छ ।  

तर जिल्ला भित्र तथा बाहिर सञ्चालन हुने सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने, भिड भाड हुने सभा, सम्मेलन, सेमिनार गोष्ठी, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, स्वीमिङ्ग पुल सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको छ । भिडभाड हुने हाट बजार खोल्न नपाइने निर्णय बैठकले गरेको छ । 

यसै गरी मठ मन्दिरको नित्य पूजा बाहेक ठुला धार्मिक, सांस्कृतिक गतिविधि गर्न नपाइने, भौतिक उपस्थितिमा शैक्षिक गतिविधि गर्ने विद्यालय, कलेज, कोचिङ सेन्टर सञ्चालन गर्न नपाइने निर्णय गरेको पनि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो । 

अक्सिजन ग्याँस तथा  सिलिण्डरको अभाव भएका कारणले विगतमा उद्योगी व्यवसायीहरूले उद्योगमा प्रयोग गर्नका लागि राखेको शिलिण्डर प्रहरीले उपचारमा प्रयोग गर्नका लागि नियन्त्रणमा लिएकोमा अहिले शिलिण्डर तथा अक्सिजनको थप उत्पादन एवं व्यवस्थापन भएर सहज भएकाले प्रहरीको रेकर्ड अनुसार सम्बन्धित उद्योगी, व्यवसायीलाई फिर्ता दिने निर्णय बैठकले गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button