तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पतालमा डायलासिस सेवा सुरु

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा आजबाट डायलासिस सेवा सुरु गरिएको छ ।

डायलासिस सेवाको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

हेटौँडा अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु गरेको हो । अहिले पाँच वटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस गर्न सुरु गरिएको र छिट्टै थप पाँच वटा मेसिन ल्याएर सेवालाई बिस्तार गर्दै लाने तयारी रहेको छ ।

तत्कालका लागि दैनिक ११ जना मिर्गौलाका बिरामीहरूलाई सेवा दिइने अस्पतालले जनाएको छ ।

अस्पतालमा डाइलसीस मेसिन स्थापना भए पश्चात् आजै तीन जना बिरामीको डायलालसिस समेत गरिएको छ ।

मकवानपुरका करिब ५ सय ३७ जना बिरामीले डायलासिस सेवा अन्य जिल्लाबाट लिँदै आएका छन् ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। विश्वराज जोशीले हेटौँडा अस्पतालमा डायलासिस सेवा सुरु हुन आफैमा राम्रो भएको बताउनुभयो ।

उहाँले प्रतिष्ठानमार्फत बागमती प्रदेशले स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न खोजेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रतिष्ठानका रजिस्ट्रार एवं अस्पतालका अध्यक्ष राजेश प्रसाईँ, प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुँडाल, अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइ, अस्पतालका निमित्त मेसु रामचन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button