सप्तरीका पाँच स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेनन्
सप्तरी । सप्तरीको १८ स्थानीय तहमध्ये पाँच स्थानीय तहले आव २०७८/०७९ को लागि बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् ।
अठार स्थानीय तहमध्ये २ नगरपालिका र ३ गाउँपालिकाले समयमा बजेट, नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा सबै स्थानीय तहहरूले आगामी आर्थिक वर्षको राजश्व र व्यय बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र गाउँ र नगर सभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सभामा पेस भएको बजेटमाथि कार्य तालिका बनाई १५ दिनभित्र छलफल सम्पन्न गर्नुपर्ने प्रावधान छ ।
तर, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका, बोदेबर्साईन नगरपालिका , छिन्नामस्ता गाउँपालिका, तिरुहुत गाउँपालिका र बलान–बिहुल गाउँपालिका गरि पाँच पालिकाले समयमा नगर तथा गाउँ सभा नगरी बजेट, नीति तथा कार्यक्रम ल्याउन असफल भएका छन् ।
जनप्रतिनिधिहरू बीचको आपसी विवाद, कर्मचारी अभाव तथा राजनैतिक खिचातानीले समयमा बजेट, नीति तथा कार्यक्रम ल्याउन नसकेको स्थानीयबासीहरुको भनाई छ ।
बजेट, नीति तथा कार्यक्रम समयमा ल्याउन नसक्दा नगर तथा गाउँपालिकाको कार्यसम्पादन प्रभावित हुने गरेको स्वयम कर्मचारीहरूले गुनासो गर्दै आएका छन् ।
सप्तरीको ७ नगरपालिका र ६ गाउँपालिका गरि १३ स्थानीय तहले भने नगर तथा गाउँ सभा गरि बजेट नीति तथा कार्यक्रम समयमै ल्याएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ,सप्तकोशी नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, राजविराज नगरपालिका, डाक्नेश्वारी नगरपालिका, शम्भुनाथ नगरपालिका गरि ७ नगरपालिका र अग्नीसाईर कृष्णासवरन गाउँपालिका, राजगढ गाउँपालि, तिलाठी–कोईलाडी गाउँपालिका, बिष्णुपुर गाउँपालिका , माहादेवा गाउँपालिका, रुपनी गाउँपालिका गरि ६ गाउँपालिकाले समयमै असार १० भित्र आ–आफ्नो सभा गरि बजेट, नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्