चितवन कारागारका एक जना कैदीबन्दीको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवन । चितवनस्थित भरतपुर कारागारमा रहेका एक जना कैदीबन्दीको कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमणले मृत्यु भएको छ ।
लमजुङको बेशीशहर नगरपालिका–१० का २४ वर्षीय कैदीबन्दी सुरज भण्डारीको आज बिहान मृत्यु भएको हो ।
उनको उपचारको क्रममा भरतपुर अस्पतालमा बिहान ३ः२० बजेको समयमा मृत्यु भएको भरतपुर कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती कैदीमा मुटुको समस्या थियो भने उनको अवस्था गम्भीर थियो । अस्पतालका चिकित्सकले कोरोना सङ्क्रमण र मुटुको समस्याले उनको मृत्यु भएको जनाएको छ ।
लागु औषध मुद्दामा पुर्पक्षका लागि नवलपरासीको कारागारमा रहेका भण्डारीको अवस्था गम्भीर बनेपछि अदालतको अनुमतिमा उनलाई भरतपुर कारागार पठाइएको थियो ।
यही असार ४ गते भरतपुर आएको भण्डारीको अवस्था झनै जटिल बनेपछि उनलाई ९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । त्यसपश्चात् उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
मृतक भण्डारी २०७८ वैशाख ५ गते लागू औषध मुद्दामा पक्राउ परेका थिए । उनलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
भरतपुर कारागारमा अहिले ६७७ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ५१ जना महिला, ३ जना आश्रित बालिका र ६२३ जना पुरुष रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्