कबड्डीका मुख्य प्रशिक्षकमा भट्ट नियुक्त
कञ्चनपुर। जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत विष्णुदत्त भट्टलाई कबड्डीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो
कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश पाएपछि पाँच महिनादेखि रिक्त कबड्डीको मुख्य प्रशिक्षक पदमा भट्टलाई नियुक्त गरिएको हो । राखेपले विश्वास गरी दिएको मुख्य प्रशिक्षकको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने मुख्य प्रशिक्षक भट्टले बताउनुभयो ।
“कबड्डी खेलाडी थिएँ । त्यसपछि प्रशिक्षक भएँ । अहिले मुख्य प्रशिक्षक भएको छु”, उहाँले भन्नुभयो, “राखेपले दिएको यो जिम्मेवारीलाई सीप र क्षमताअनुसार इमानदार भएर पूरा गर्नेछु ।” मुख्य प्रशिक्षक भट्टले कबड्डी खेलको विकास र विस्तारका लागि विद्यालय तहसम्म प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो ।
विद्यार्थी जीवनदेखि कबड्डी खेल्न थालेका भट्टले तीन वटा एसियाली खेलकुद प्रतियोगितामा भाग लिनुभएको छ । उहाँले सन् १९९० मा बेइजिङ, सन् १९९४ मा हिरोसिसमा र सन् १९९८ मा बैंककको एसियाली खेलकुद प्रतियोगितामा भाग लिनुभएको थियो । यसै गरी उहाँले भारतको कलकत्तामा भएको साफ च्याम्पियन सीप र साग गेममा पाँच पटक भाग लिनुभएको छ । नेपाली राष्ट्रिय कबड्डी टीमको सात वर्ष नेतृत्व सम्हाल्नुभएका उहाँले विसं २०६४ मा कबड्डी खेलबाट सन्न्यास लिनुभएको थियो ।
मुख्य प्रशिक्षक भट्टले प्रशिक्षकको जिम्मेवारी पाएपछि हालसम्म दुई हजार ५०० खेलाडीलाई प्रशिक्षण दिइसक्नुभएको छ । त्यसमा २०० भन्दा बढी खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगितासम्म खेलेका छन् ।
भीमदत्त नगरपालिका–७ हल्दुखालका भट्टले जनसेवा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दादेखि नै कबड्डी खेलमा रुचि राख्दै आउनुभएको थियो । विसं २०४३ मा कबड्डी खेलेको दुई वर्षपछि झापामा भएको राष्ट्रिय प्रतियोगितमा सहभागी भएर उहाँ साग गेमका लागि छनोट हुनुभएको थियो । त्यसपछि २०६४ सम्म उहाँले कबड्डी प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो ।
मुख्य प्रशिक्षक भट्टले कबड्डीको विकासका लागि हल्दुखालमा एकेडेमी सञ्चालन गर्नुभएको छ । उहाँले कबर्ड हलमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउनुभएको छ । जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख गोपालदत्त भट्ट मुख्य प्रशिक्षक भट्टको लामो अनुभवले कबड्डीको विकास र विस्तारमा सहयोग पुग्ने बताउनुहुन्छ ।
विसं २०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका भट्ट २५ वर्षपछि मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । अठार वर्षअघि उहाँ कबड्डीको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको थियो ।रासस








प्रतिक्रिया राख्नुहोस्