तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुखद्वारा योजनाको स्थलगत अनुगमन

अछाम । साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले साँफेबगरमा निर्माणाधीन एक दर्जन योजनाको शनिबार अनुगमन गर्नु भएको छ । साँफेबगर नगरपालिका, प्रदेश सरकार र डिभिजन कार्यालय मार्फत सञ्चालित योजनाको स्थलगत अनुगमन गर्नु भएको छ ।

साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथ, वडा नं.२ जाल्पादेवि र वडा नं.३ सिद्देश्वर, वडा नं.७ रिडिकोट र वडा नं.८ चण्डिकाका एक दर्जन निर्माणाधीन योजनाको गुणस्तरीयताको अवस्थाका बारेमा छड्के अनुगमन गर्नु भएको हो । जनप्रतिनिधि, प्राविधिक र पत्रकार सहित नगर प्रमुख कुँवरको नेतृत्वमा निर्माणाधीन योजनाको गुणस्तर भए/नभएको बारेमा अनुगमन गरिएको छ । 

साँफेबगर नगरपालिका वडा नं.३ स्थित हाटबजारमा निर्माणाधीन पक्की क्यानलबाट अनुगमन सुरु गरिएको थियो । त्यस्तै वडा नं.३ सिद्देश्वरमा साँफेबगर नगरपालिका र प्रदेश सरकारको संयुक्त  लगानीमा निर्माण भइरहेको शहरी स्वास्थ्य क्लिनिक अनुगमन गर्नुभयो ।

यस्तै वडा नं.२ जाल्पादेविमा नगरपालिको ५ लाखको आर्थिक सहयोगमा निर्माण हुँदै आएको माझे कुलो र प्रदेश सरकारको १० लाखको सहयोगमा निर्माण हुँदै आएको बागभिडि तटबन्धको पनि नगर प्रमुख कुँवरले अनुगमन गर्नुभएको छ । 

यस्तै वडा नं.१ वैजनाथमा, वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको सहयोगमा ५० लाखको लागतमा वुढीगंगा नदीमा बनिरहेको  चेक डयाम, ९ लाखको लागतमा निर्माण हुँदै आएको पार्क र ८ लाखको लागतमा निर्माण हुँदै आएको पैदल मार्ग र वैद्यनाथ क्षेत्र विकास संस्थाको ३० लाखको सहयोगमा वुढीगंगा नदीमा बनिरहेको वुढीगंगा तटबन्ध योजनाको अनुगमन गर्नुभएको छ ।  

यस्तै वडा नं.१ वैजनाथ प्रदेश सरकारको १० लाखमा निर्माण भइरहेको ग्वालेक तटबन्धको र सुर्यचन्द्र नमुना माविको निर्माणाधीन छात्रावासको पनि अनुगमन गर्नुभएको छ ।  

वडा नं.७ रिडिकोट र चौरपाटी गाउँपालिका वडा नं.४ जोड्ने भङखान झोलुङ्गे पुलको कटानको अवस्था र भखङखान देखि सेती लोकमार्ग सम्म पुग्ने ग्रामीण सडकको पनि निरीक्षण गर्नुभएको छ ।

निरीक्षण पछि कुराकानी गर्दै नगर प्रमुख कुल बहादुर कुँवरले भङखान झोलुङ्गे पुलको कटान रोक्नको लागि तत्काल जालिका व्यवस्था गर्ने र भङखान देखि सेती लोकमार्ग पुग्ने ग्रामीण सडकको ट्र्याक चाँडै खुलाइने जानकारी दिनुभएको छ ।

यस्तै साँफेबगर नगरपालिका वडा नं.८ चण्डिका स्थित जिमराडी क्षेत्रमा साँफेबगर नगरपालिकाको सहयोगमा निर्माण भइरहेको प्रतीक्षालयको पनि अनुगमन गर्नुभएको छ ।  अनुगमन पछि कुराकानी गर्दै नगर प्रमुख कुँवरले केही निर्माणाधीन योजनाको काम सन्तोषजनक भए पनि केही योजनाको काम गुणस्तरहीन भएको पाएको  बताउनुभयो ।

मापदण्ड अनुसार काम नगर्ने उपभोक्ता समितिको भुक्तानी पनि रोकिने चेतावनी दिनुभएको छ । अनुगमनमा सहभागी साँफेबगर नगरपालिकाका सब–इन्जिनियर धनराज जोशीले केही योजनाको काम प्राविधिक स्टमेट अनुसार नपाएको बताउनुभयो । स्टमेट अनुसार नभएका योजनाहरूको कामलाई प्रभावकारी रुपमा काम गर्नको लागि निर्देशन  दिएको बताउनुभयो । 

अनुगमनमा नगर प्रमुख सहित साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथका वडा अध्यक्ष अमर शाह , वडा नं.२ जाल्पादेविका अध्यक्ष कालु सिंह कुँवर, वडा नं.३ सिद्देश्वरका अध्यक्ष कृष्ण वुढा, वडा नं.७ रिडिकोटका अध्यक्ष मिठ्ठु सिंह भाट, सब–इन्जिनियर धनराज जोशी, नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर, साँफेबगर नगरपालिकाका सामाजिक सहजकर्ता विक्रम आउजीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button