तपाईँ सुन्दै हुनुहुन्छः

डाँडाकटेरीका घरघरमा धारा

सल्यान । घरघरमा खानेपानीको धारा आएपछि जिल्लाको कुमाख गाउँपालिका २ डाँडाकटेरीका स्थानीयबासीमा खुशीयाली छाएको छ । आधा घण्टाको बाटोमा हिँडेर पानी बोक्नु पर्ने बाध्यताको अन्त्य भएपछि डाँडाकटेरीबासी खुसी भएका हुन । 

घर घरमा धारा आएपछि विगतमा पानी बोक्दाको पीडा अहिले दूर भएको  ६० वर्षीया टिकादेवी चन्दले बताइन  । उनले भनिन ‘६० वर्षको उमेर पछि घरमै धारा देख्न पाइयो । पानी बोक्दा बोक्दा ढाडको छाला बाक्लो भइसकेको थियो । अहिले निकै खुशी लागेको छ ।’ घर घरमा धारा निमार्ण भएपछि सबैभन्दा सहज गृहिणीहरूलाई भएको स्थानीय ४५ वर्षीय तेज बहादुर खत्रीले बताए । प्रत्येक घरमा खानेपानीको धारा निमार्ण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाएको उनको भनाई छ । 

बस्ती भन्दा ३ सय ५० मिटर तल रहेको पानी लिफ्ट प्रविधिबाट बस्तीमा पानी वितरण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर चन्दले बताए । ५५ घरधुरीका लागि प्रत्येक घर घरमा धारा वितरण गरिएको उनको भनाई छ । 

पूर्वाधार विकास कार्यालय सल्यानको ५० लाखको लागतमा लिफ्ट प्रविधिबाट घर घरमा खानेपानीका धारा वितरण गरिएको कार्यालयका प्रमुख इ. विनोद पुनले बताए ।  घर घरमा पानीका धारा भएपछि सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको पुनको भनाई छ ।  यो वर्ष  कार्यालय मार्फत चार वटा खानेपानीका योजना सम्पन्न भएको उनले बताए ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button