तपाईँ सुन्दै हुनुहुन्छः

नेपालकै अग्लो भ्यूटावरको ४० प्रतिशत निर्माण पूरा

झापा । झापाको दमक नगरपालिका–३ मा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ ९भ्यूटावर ०को ४० प्रतिशत निर्माण पूरा भएको छ ।

एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर भूपेन्द्रकुमार यादवले बताउनुभयो ।

चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा निर्माणको ठेक्का लिएका हुन् ।

कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्र गतिमा निर्माण कार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इन्जिनियर यादवको भनाइ छ ।

दमक नगरपालिका–३ दापगाँछीमा पाँच बिघा जग्गामा भ्यूटावरको निर्माण भइरहेको छ ।

नेपाल सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी निर्माण कार्य तोकिएकै अवधिमा सम्पन्न गर्न भन्दै आएको छ तर कोरोना महामारीका कारण निर्माण अवधि केही लम्बिने देखिएको छ ।

हाल भ्यूटावरमा ६० जनाभन्दा बढी कामदारले दैनिक काम गरिरहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणका कारण १०० भन्दा बढी भारतीय कामदार घर फर्किएका छन् । हाल कार्यरत मजदुर सिराहा र सप्तरीतिरका रहेका छन् ।

विसं २०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्काको सम्झौता विसं २०७६ असार २७ मा भएको थियो तर तोकिएको मितिमा कोभिड–१९ का कारण निर्माण सम्पन्न नहुने हुँदा नेपाल सरकारसँग थप छ महिनाको म्याद थपका लागि पहल भइरहेको इन्जिनियर यादवले बताउनुभयो ।

१८ तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने र बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ ।

सात कट्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा गाडी पार्किङ स्थल हुनेछ । टावर वर्गाकारमा बन्नेछ ।

टावरको दक्षिणतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्य चौकी बनाइने भएको छ । पश्चिमतिर ओपन थिएटर र उत्तरतिर फाउन्टेन पार्क, चिल्ड्रेन पार्कलगायतका संरचना बनाइने भएको छ ।

भ्यूटावर दृश्यावलोकनका लागि मात्र नभएर व्यावसायिक प्रयोजनका दृष्टिले समेत महत्त्वपूर्ण हुने सपिङ कम्प्लेक्सको अवधारणबाट डिजाइन गरिएको छ ।

टावरका तलाहरूमा रेस्टुरेन्ट, होटेल, बैङ्क, बुटिकलगायतका व्यावसायिकस्थलहरु रहने भएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण कार्यको नियमित रेखदेख र गुणस्तरको अनुगमन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button