एमालेले बोलायो १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले असार १६ गते काठमाडौँमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
नेकपा एमालेको आज काठमाडौँमा बसेको ९औँ स्थायी कमिटीको बैठकले विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न बैठक बोलाइएको नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
१६ गते बस्ने महाधिवेशन बैठकमा अदालतमा चलेका विभिन्न मुद्दा पार्टी र सरकारले लिनुपर्ने धारणा, पार्टीको एकता कायम गर्न भइरहेका प्रयास लगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै आज बसेको स्थायी कमिटी बैठकमा मुलुकमा भइरहेको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र प्राकृतिक विपद्को न्यूनीकरण रोकथाम उद्धार तथा राहत र कोभिडको सङ्क्रमणको नियन्त्रणका विषयमा छलफल समेत भएको बैठकपछि नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा जनताको बीचबाट फैसला गर्नु पर्ने विषयलाई जबरजस्ती अदालतमा प्रवेश गराउने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एमाले भित्रका केही नेताहरूका कारण यो परिस्थिति सिर्जना भएको हो जुन उचित नभएको निष्कर्ष बैठकको छ ।
सरकार विस्तार सम्बन्धमा अदालतले विगतका नजिरको विपरीत फैसला गरेको धारणा बैठकको छ ।
२०६७ सालमा माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिई सकेपछि पनि मन्त्रिपरिषद् बिस्तार भएको र २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागु भइसकेपछि मन्त्री परिषद् विस्तार गर्दा राजनीतिक विषय भनेर अदालत पन्छिएको उदाहरण हुँदा हुँदै यो पटक अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गर्नु नजिर विपरीत भएको बैठकले निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
प्रवक्ता ज्ञवालीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेका कारबाहीहरू उचित नभएको भन्दै अदालतले जेठ २७ गते गरेको फैसला राजनीतिक दल सम्बन्धी ऐनको भावना विपरीत भएको र यस्ता कतिपय फैसलाले मुलुकको कार्यकारीणीलाई कमजोर बनाउने गरी आएको आफूहरूको निष्कर्ष रहेको बताउनुभयो ।
प्रवक्ता ज्ञवालीले मुलुकको कार्यपालिका र न्यायपालिका कमजोर हुँदा प्रणाली नै कमजोर हुने भएकाले सन्तुलित सम्बन्ध कायम रहनुपर्ने पक्षमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्