बाढी प्रभावित मेलम्चीवासीलाई अमेरिकामा बस्ने नेपालीहरूको सहयोग
सिन्धुपाल्चोक । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरूले मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा ३५ जनाबाट नेपाली रुपियाँ पाँच लाख ७७ हजार सङ्कलन गरी पठाइएको हो ।
सो रकम शनिबार रामकृष्ण श्रेष्ठकी सुपुत्री सुजता श्रेष्ठ, दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले नगर प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभयो । यस रकम मध्येबाट रेडियो मेलम्चीलाई रु. ७७ हजार प्रदान गरिएको छ । रकम बुझ्दै नगर प्रमुख डम्बर अर्यालले सहयोगीहरूलाई धन्यवाद दिँदै सबैको सहयोगले मात्र बाढी प्रभावितहरूलाई व्यवस्थापन गर्न सकिने हुँदा अन्य सहयोगी मनहरूलाई पनि सहयोगका लागि आह्वान गर्नुभयो ।
रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग रकम बुझ्दै समुदायको आवाजलाई बुलन्द गर्दै आएको रेडियो आफैँ समस्यामा परेको हुँदा यस किसिमको सहयोगले पुनः रेडियो सञ्चालनमा मद्दत पुग्ने बताउँदै सहयोगी मनलाई धन्यवाद प्रकट गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इन्द्रमाया गुरुङ, मेलम्ची वडा नं. ११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालको पनि उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्